१३ माघ २०७९, शुक्रबार

नेपाल र भारतसँगको त्रिदेशीय सीमाक्षेत्र नजिकै बाँध बनाउँदै चीन

एसीपी संवाददाता

११ माघ २०७९, बुधबार ०८:२८ मा प्रकाशित

काठमाडौं । चीनले नेपाल र भारतसँगको त्रिदेशीय सीमा नजिकै तिब्बतको माब्जा जाङ्बो नदीमा बाँध निर्माण गरिरहेको सार्वजनिक भएको छ । बाँध निर्माणस्थल कालापानी क्षेत्रबाट उत्तर त्रिदेशीय सीमा क्षेत्रदेखि करिब १६ किलोमिरको दूरीमा रहेको छ ।

तिब्बतको काउन्टीबाट उत्पत्ति भएको माब्जा जाङ्बो नदी नेपालबाट घाघरा हुँदै भारतको गंगा नदीमा मिसिन्छ ।

भूस्थानिक खुफिया अनुसन्धानकर्ताहरुले ट्वीटरमा शेयर गरेका सो क्षेत्रका स्याटेलाइट तस्वीरहरूलाई आधार बनाएर भारतीय दैनिक पत्रिका ‘द हिन्दू’ ले यस विषयमा समाचार लेखेको छ ।

ट्वीटर प्रोफाइल अनुसार इन्टेल ल्याबका भूस्थानिक खुफिया अनुसन्धानकर्ता डेमियन साइमनले १९ जनवरीमा ट्वीटबाट बाँधको निर्माण कार्य भइरहेको स्याटेलाइट तस्वीरहरू पोस्ट गरेका थिए । उक्त तस्वीरमा नेपालसँग सीमा जोडिने तिब्बतको बुराङ काउन्टीमा सन् २०२१ को मेदेखि भइरहेका गतिविधि देख्न सकिन्छ ।

‘सन् २०२१ को सुरुदेखि नै चीनले भारत र नेपालको त्रिदेशीय सीमानाको उत्तरपट्टी केही किलोमिटर पर माब्जा जाङ्बो नदीमा बाँध निर्माण गरिरहेको छ । जबकि संरचना पूरा नभएको परियोजनाले भविष्यमा यस क्षेत्रको पानीमा चीनको नियन्त्रण हुनेबारे चिन्ता बढाउनेछ,’ साइमनले ट्वीटमा उल्लेख गरेका छन् । उनले ट्वीटरमा राखेका तस्वीरमा जलाशयसँगै तटबन्ध निर्माणको काम भइरहेको स्थान देखिएको छ ।

‘द हिन्दु’का अनुसार भारतीय सुरक्षा विज्ञहरूले साइमनको दावीलाई नकार्न नसकिने बताएका छन् । ‘पानीलाई लाभको रूपमा प्रयोग गरेर त्रिदेशीय सीमाना नजिकै चीनले सैन्य क्षेत्र स्थापना गर्न लागेको हुनसक्छ । किनभने, अरुणाचल प्रदेश नजिकैको यार्लुङ जाङ्बो नदीमा यसअघि चीनले त्यस्तै गतिविधि गरेको थियो’, स्रोतलाई उद्धृत गर्दै हिन्दुले उल्लेख गरेको छ ।

चीनले यो बाँधलाई डाइभर्ट गर्न मात्र नभई माब्जा जाङ्बो नदीमा आश्रित क्षेत्रमा पानीको अभाव हुनसक्ने र नेपालको घाघरा र कर्णालीजस्ता नदीमा पानीको सतह घटाउन पनि प्रयोग गर्न सक्ने दावी ‘द हिन्दू’को समाचारमा गरिएको छ । त्यहाँका विवादित क्षेत्रहरूमा आफ्नो दावीलाई बलियो बनाउन चीनले सीमा नजिकै बाँधहरू प्रयोग गर्न सक्ने भारतीय विज्ञहरूको आँकलन छ ।

ब्रह्मपुत्रलाई तिब्बतमा यार्लुङ जाङ्बो नदीका नामले चिनिन्छ । यो नदी तिब्बतको हिमालबाट निस्केर भारतको अरुणाचल प्रदेशमा हुँदै आसाम र त्यसपछि बंगलादेश हुँदै बंगालको खाडीसम्म पुग्छ ।

२०२१ मा, चीनले यार्लुङ जाङ्बोको तल्लो भागमा ७० गिगावाट विद्युत् उत्पादन गर्न ठूलो बाँध बनाउने घोषणा गरेको थियो । जुन चीनको ‘थ्री गर्जेस’ बाँध भन्दा तीन गुणा ठूलो हो भने क्षमताको हिसाबले विश्वको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो । सन् २०६० सम्ममा स्वच्छ ऊर्जा उत्पादन र कार्बन न्यूट्रलिटी हासिल गर्न चीनले घोषणा गरेका अन्य धेरै जलविद्युत आयोजनाहरूमध्ये यो पनि एउटा हो । अनलाइनखबरमा प्रकाशित ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x