काइली विश्वकै कान्छी अर्बपति
एजेन्सी — सन् २०१९ मा आजकै दिन (मार्च ५) मा काइली जेनर विश्वकै कान्छी अर्बपति बनेकी थिइन् । अमेरिकी सञ्चारकर्मी तथा व्यवसायी जेनर आफ्नै बलबुतामा २१ वर्षको उमेरमा अर्बपति बनेकी हुन् ।
फोब्स म्यागजिनको अर्बपतिको सूचीमा पहिलो पटक सन् २०१९ मा अटाएकी जेनर शृंगारका सामानको व्यवसायबाट धनाढ्य बनेकी हुन् । उनको कम्पनी काइँली कस्मेटिक्सले २०१९ मा मात्र ३६ करोड अमेरिकी डलर बराबरको नाफा कमाए पनि उनी उक्त सूचीमा परेका हुन् ।
जेनरले २०१५ को नोभेम्बर ३० मा २९ डलरबाट आफ्नो व्यवसाय सुरु गरेकी थिइन् । त्यसको १८ महिनामै उनको कम्पनीले ४२ करोड डलरका शृंगार सामग्री बिक्री गरेको थियो । सन् २०१६ मा होलिडे कलेक्सन बजारमा ल्याएपछि भने उनको कम्पनीले दैनिक करोडभन्दा बढी कमाएको थियो । फोब्सको सन् २०२२ को सूचीअनुसार भने उनको कुल सम्पत्ति ६ सय मिलियन अमेरिकी डलर छ ।
जेनरले सन् २००७ देखि २०२१ सम्म कार्दशियनस परिवारका सदस्यसँगै टेलिभिजन सिरिज ‘ई’ मा अभिनय गरेकी थिइन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा धेरै फलोअर हुने सेलिब्रेटीमा उनी चौथो र महिलामा दोस्रो स्थानमा छन् । इन्टामा उनका भन्दा धेरै फलोअर क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र सेलेना गोमेजका छन् ।


