पाकिस्तानका पुर्ब प्रधानमन्त्री इमरान खानको निवास अगाडि कार्यकर्ता र प्रहरीबीच झडप
प्रहरीले इमरान खानलाई पक्राउ गर्ने तयारी गरिरहँदा उनले कार्यकर्ता र समर्थकहरूलाई आह्वान गरेका छन्- ‘सच्चा अधिकारको लागि सडकमा उत्रिनुस्’ । इमरान खानको पार्टी पीटीआईका कार्यकर्ताहरूले विभिन्न सहरमा प्रदर्शन गरेका छन् ।
एजेन्सी — पाकिस्तानी पूर्वप्रधानमन्त्री एवं पाकिस्तान ताहरिक ए इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानको निवास अगाडि प्रहरी र पीटीआईका कार्यकर्ताहरूबीच झडप भएको छ । इमरान खानले भने आफूलाई पक्राउ गर्न प्रहरी घर बाहिर आएको भन्दै त्यसलाई रोक्न कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।
मंगलबार साँझ खानले एक भिडियो सन्देश सार्वजनिक गर्दै कार्यकर्ताहरूलाई बाहिर निस्कन आह्वान गरेका छन् । लाहोरस्थित जमान पार्कमा ठूलो संख्यामा खानका कार्यकर्ताहरू सडकमा उत्रिएका छन् ।
‘उनीहरूले सोचेका छन् कि मलाई पक्राउ गरेपछि राष्ट्र निदाउनेछ । तर तपाईँहरूले उनीहरूलाई गलत सावित गर्नुपर्नेछ,’ खानले ट्विटरमा सार्वजनिक गरेको भिडियो सन्देशमा भनेका छन् । उनले हरेक मानिसलाई आफ्नो ‘सच्चा अधिकार’का लागि घरबाट निस्किएर प्रदर्शनमा उत्रन आह्वान गरेका छन् । ‘यदि मलाई केही भयो भने र मलाई जेलमा राखियो भने । अथवा मलाई मारियो भने तपाईँहरूले इमरान खानबिना नै संघर्ष गरेर आफूलाई प्रमाणित गर्नुपर्ने छ । र यी चोरहरूको दासता स्वीकार नगर्नुहोला,’ खानले भनेका छन् ।
पीटीआईका अन्य नेताहरूले पनि आफ्ना समर्थक तथा कार्यकर्ताहरूलाई इमरान खानप्रति ऐकबद्धताका लागि सडकमा उत्रिएर प्रदर्शन गर्न आह्वान गरेका छन् । स्थानीय समय अनुसार मंगलबार दिउँसो २ बजेदेखि नै खानको निवास अगाडि ठूलो संख्यामा सुरक्षाकर्मीहरू खटाइएको पाकिस्तानी सञ्चारमाध्यम डन न्युज जनाएको छ । प्रहरीले भने पीटीआई अध्यक्षलाई पक्राउ गर्ने सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन ।


