अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा
आपराधिक अभियोगमा अदालतमा मुद्दा दर्ता गरिएका ट्रम्प पहिलो पूर्वराष्ट्रपति
काठमाडौँ — संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित अदालतमा आपराधिक अभियोग दर्ता भएको छ । राष्ट्रपति भएपछि अमेरिकाको कुनै पनि अदालतमा आपराधिक अभियोग दर्ता भएका उनी पहिलो पूर्वराष्ट्रपति हुन् ।
हालसम्म उनीविरुद्ध कतिवटा अभियोग लगाइएको छ भन्ने स्पष्ट नभए पनि २०१६ मा राष्ट्रपतिको निर्वाचन ताका पूर्वपोर्नस्टार स्ट्रोमी ड्यानियल्सलाई चुप लगाउन १ लाख ३० हजार अमेरिकी डलर दिएको मुख्य अभियोगमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।
उनले ड्यानियल्सलाई दिएको रकमलाई कानुनी रूपमा स्पष्ट नखुलाई व्यापारिक प्रयोजनका लागि भनेर उल्लेख गरेको र उक्त कार्य न्युयोर्क राज्यको कानुन अनुसार गैरकानुनी रहेको पाइएपछि उनीविरुद्ध अदालतमा अभियोजन दर्ता भएको हो ।
ट्रम्प आगामी मंगलबार अदालतमा हाजिर भएर आफ्नो प्रतिरक्षा गर्ने अपेक्षा गरिएको छ । उनले आफूविरुद्ध लगाइएको आरोप गलत र राजनीतिप्रेरित रहेको प्रतिक्रिया दिएका छन् । उनले आफू अमेरिकी नागरिकको पक्षमा लगातार उभिएकाले गलत आरोप लगाएर दु:ख दिन खोजेको बताएका छन् ।


