१२ मंसिर २०८३, शुक्रबार

युक्रेनलाई रोक्न खोज्दा फिनल्यान्ड नाटोतिर

एसीपी संवाददाता

२४ चैत्र २०७९, शुक्रबार ०८:१३ मा प्रकाशित

अहिले युरोप रुसी ऊर्जा, अमेरिकी सुरक्षा र चिनियाँ व्यापारमा निर्भर छ, जसले युरोपको भविष्यलाई थप संकटमा पारेको देखिन्छ

काठमाडौँ — उत्तरी युरोपमा अवस्थित नर्डिक मुलुक फिनल्यान्डले चैत २१ मा उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्य लिएसँगै विश्व भूराजनीतिमा नयाँ तरंग ल्याएको छ । एउटा छिमेकी युक्रेनले नाटोको सदस्यता लिन खोज्दा आक्रमण थालेको रुसले अर्को छिमेकी फिनल्यान्डले सदस्यता लिँदा भने रोक्न सकेन ।

फिनल्यान्डले सन् १९४८ मा तत्कालीन सोभियत संघसँग गरेको ‘मैत्रीपूर्ण सम्झौता’ लाई तोड्दै नाटोको सदस्यता लिएको हो । यसले उत्तरपूर्वी युरोपको सुरक्षा परिदृश्यमा ठूलो परिवर्तन आएको छ । फिनल्यान्डको प्रवेशसँगै अब नाटोको सदस्यता संख्या ३१ पुगेको छ । भविष्यमा फिनल्यान्डलाई केही संकट परेमा रुसको सीमा क्षेत्रमा अमेरिकासहित ३१ मुलुकका सेना सहयोगका लागि उभिन आउने बाटो खुलेको छ । नाटोको सदस्य भएपछि फिनल्यान्डको सार्वभौमिकताको रक्षा गर्ने जिम्मा अब नाटोको बनेको छ, जसले रुसलाई थप सशंकित पारेको छ ।

संसारको सबैभन्दा खुसी मुलुकको सूचीमा शीर्ष १० भित्र रहेको फिनल्यान्ड नाटोको सदस्यता लिएपछि थप खुसी होला वा भविष्यमा थप संकटमा पर्ला भन्नेबारे हेर्न बाँकी नै छ । रुसको उत्तर–पश्चिमी छिमेकी फिनल्यान्डको नाटोमा प्रवेश गर्ने निर्णयले धेरैलाई चकित पारेको छ । रुस र फिनल्यान्डको १ हजार ३ सय ४० किलोमिटर सीमा जोडिएको छ । फिनल्यान्डबाट रुसको चर्चित सहर सेन्ट पिटर्सबर्ग नजिक पर्छ, जुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जन्मेस्थान हो । सेन्ट पिटर्सबर्ग र फिनल्यान्डको राजधानी हेल्सिन्कीबीचको दूरी ३०० किलोमिटर मात्रै छ । फिनल्यान्डले उत्तर–पश्चिम युरोप र रुसलाई जोड्छ । उक्त क्षेत्रलाई सुरक्षाको दृष्टिकोणबाट संवेदनशील पनि मानिन्छ । रुसले फिनल्यान्डको सीमाक्षेत्रमा सुरक्षा फौजलाई प्राथमिकतासाथ तैथान गर्दै आएको छ । फिनल्यान्ड नाटोमा सहभागी भएसँगै सम्बन्ध चिसिने र सीमा क्षेत्रमा दुई पक्षबीच द्वन्द्व हुन सक्ने आकलन गरिएको छ ।

पछिल्लो समय अर्को नर्डिक देश स्विडेनले पनि नाटोको सदस्यता लिन पहल गरिरहेको छ । नाटोकै सदस्यहरू टर्की र हंगेरीले विरोध जनाएपछि स्विडेन नाटोमा सदस्य हुन पाएको छैन । यसरी हेर्दा युरोपमा नाटोको सदस्यता लिने होड बढ्न थालेको छ । रुसको आक्रमण हुने डरले नाटोको सदस्यता लिन युरोपेली मुलुक हच्किनुपर्ने हो तर रुस–युक्रेन युद्धले नाटोको संख्या झन् बढाएको देखिन्छ । युक्रेनलाई सुरक्षात्मक गठबन्धन संस्था नाटोमा सामेल नहुन दिएको सुझाव बेवास्ता गर्दै युक्रेनले सदस्यता लिने घोषणा गरेपछि सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेको थियो । त्यसयता लगातार रूपमा दुई मुलुकबीच द्वन्द्व चलिरहेको छ । पश्चिमा मुलुकको सहयोग पाएको युक्रेन तथा चीन, भारत र इरानजस्ता मुलुकको साथ पाएको रुसबीच एक वर्षभन्दा बढी समयदेखि लगातार युद्व चलिरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x