१२ मंसिर २०८३, शुक्रबार

अतिक अहमद : मुद्दाले घेरिएका बाहुबलीकी श्रीमती, भाइ र छोराहरूको ‘अपराध’ को पूरा कहानी

एसीपी संवाददाता

५ बैशाख २०८०, मंगलवार ०८:०७ मा प्रकाशित

स्वास्थ्य परीक्षणका लागि प्रयागराज लैजाँदै गर्दा भारतका पूर्व सांसद अतिक अहमद र उनका भाइको प्रयागराजमा हत्या गरिएको छ । प्रहरीले तीन आक्रमणकारीलाई पक्राउ गरेको छ र हत्याको अनुसन्धानका लागि न्यायिक आयोग गठन गरेको छ ।

अतिक अहमद र उनको परिवारले तल्लो अदालतदेखि सर्वोच्च अदालतसम्म सुरक्षाको माग गरेको थियो ।

एक महिनाअघि अतिक अहमदले उमेश पाल हत्याको अनुसन्धानका क्रममा आफ्नो सुरक्षा सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

त्यति बेला सर्वोच्च अदालतले भनेको थियो, ‘राज्य संयन्त्रले तपाईंको ख्याल राख्नेछ ।’

पूर्व सांसद अतिक अहमदको अपराधको इतिहास लामो थियो र उनी विरुद्ध सयभन्दा बढी मुद्दा दर्ता थिए ।

अतिकका भाइ अशरफको पनि आपराधिक इतिहास थियो र उनी विरुद्ध ५२ वटा मुद्दा चलिरहेका थिए ।

पछिल्लो छ वर्षमा, उत्तर प्रदेश सरकारले अतिक अहमद, उनका भाइ र उनीहरूका गिरोह सहयोगीविरुद्ध धेरै कारबाही गरेको छ । एक अनुमान अनुसार उनको र उनीसँग सम्बन्धित व्यक्तिका लगभग ८०० करोड भारुको सम्पत्ति या त जफत गरिएका छन् या नष्ट पारिएको छ ।

विभिन्न मुद्दा लागेका अतिकका दुई छोरा जेलभित्रै छन् ।

atik1छोराको इन्काउन्टर

उमेश पाल हत्याकाण्डमा उत्तर प्रदेशको स्पेशल टास्क फोर्स (एसटिएफ) ले अतिक अहमदका छोरा असद र अर्का एक ‘सुटर’ गुलामलाई बिहीबार अपराह्न झाँसीमा मुठभेडमा मारिए ।

उत्तर प्रदेश प्रहरीले उमेश पालको हत्यासँग सम्बन्धित आफ्नो अनुसन्धानमा यसलाई ठुलो उपलब्धि बतायो ।

तर अतिक अहमद र उनको परिवारका सदस्यहरूको आपराधिक इतिहास कस्तो छ र यो माहौलमा उनको परिवारले कसरी मुद्दा र आरोपले घेरिएका छन् ?

बीबीसीले यसबारे विस्तृतमा जानकारी दिएको छ ।

atik2असद अहमद, अतिक अहमदका तेस्रो छोरा

सबैभन्दा पहिला असद अहमदको कुरा गरौँ जसलाई एसटीएफले झाँसी मुठभेडमा मारे । असद अतिकका तेस्रो छोरा थिए ।

उत्तर प्रदेश प्रहरीले जारी गरेको पत्रकार सम्मेलन अनुसार असदविरुद्ध एउटा मात्रै मुद्दा थियो । उमेश पाल र उनका दुई ‘गनर’ को हत्याको मुद्दा । उक्त घटनापछि उनी फरार थिए ।

प्रहरीका अनुसार असदको जन्म सेप्टेम्बर २००३ मा भएको थियो र उनी १९ वर्षका थिए ।

असदले प्रयागराजकै एक विद्यालयबाट प्रारम्भिक शिक्षा प्राप्त गरे । पछि उनले लखनउको एक निजी विद्यालयबाट स्कुले शिक्षा पूरा गरे ।

अतिकका वकिल विजय मिश्राका अनुसार असदले विदेशमा कानुन पढ्न पासपोर्टका लागि निवेदन पनि दिएका थिए तर प्रमाणीकरणमा रिपोर्ट नकारात्मक आएका कारण उनको पासपोर्ट बन्न सकेन र विदेश पढ्नका लागि जान सकेनन् ।

मुठभेडपछि असदको झाँसीमा पोस्टमार्टम गरियो र उनको अन्तिम संस्कार शनिवार प्रयागराजमा भएको थियो ।

अतिक छोराको अन्तिम संस्कारमा समावेश हुन सकेका थिएनन् ।

atik3अतिक अहमद : १०० भन्दा बढी मुद्दा

अतिक अहमदलाई साबरमती जेलमा राखिएको थियो र उनी विरुद्ध एमपीएमएलए अदालतमा ५० भन्दा बढी मुद्दामा भिडियो कन्फरेन्समार्फत कारबाही भइरहेको थियो ।

तर अतिक अहमदको आपराधिक इतिहासमा सयभन्दा बढी मुद्दा दर्ता छन् ।

प्रयागराजका अभियोजन अधिकारीका अनुसार अतिक अहमदविरुद्ध सन् १९९६ देखि ५० वटा मुद्दा विचाराधीन छन् ।

१२ वटा मुद्दामा अतिक र उनका भाइ असरफका वकिलले निवेदन दिएका कारण मुद्दामा अभियोग दायर हुन नसकेको अभियोजन पक्षले जनाएको छ ।

अतिक अहमद बीएसपी विधायक राजु पाल हत्याका मुख्य आरोपी थिए । यस विषयमा अहिले सीबीआईले अनुसन्धान गरिरहेको छ ।

यस वर्ष २८ मार्चमा, प्रयागराजको एमपीएमएलए अदालतले अतिक अहमदलाई २००६ मा उमेश पालको अपहरणमा दोषी ठहर गर्‍यो र उनलाई आजीवन कारावासको सजाय सुनाएको थियो ।

उमेश पाल राजु पाल हत्या प्रकरणमा प्रारम्भिक साक्षी थिए, तर पछि मुद्दाको अनुसन्धान गरिरहेको सीबीआईले उनलाई साक्षी बनाएन ।

atik4अशरफ, अतिकका भाइ

अतिकका भाइ अशरफ उर्फ खालिद आजमीविरुद्ध ५२ वटा मुद्दा दर्ता छन् । जसमा हत्या, ज्यान मार्ने उद्योग, दंगालगायत  अन्य धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

उमेश पालको हत्यामा अशरफलाई पनि अभियुक्त बनाइयो ।

ध्यान दिनुपर्ने कुरा के छ भने उमेश पाल अपहरण मुद्दाको फैसलामा अशरफ निर्दोष पाइए । यस मुद्दामा अतिक र अन्य २ जना दोषी ठहर भएका थिए भने ६ जना अभियुक्तलाई सफाइ दिइएको थियो ।

अशरफ सन् २००५ मा बसपा विधायक राजु पालको हत्याका अभियुक्त पनि हुन् र उनको मुद्दा लखनउको सीबीआई अदालतमा चलिरहेको छ ।

अशरफलाई बरेली जेलमा राखेर पेशीका लागि प्रयागराज ल्याइन्थ्यो ।

शनिवार साँझ उनको हत्या हुँदा पनि प्रहरीले सोधपुछका लागि प्रयागराज बोलाएको थियो ।

atik5शाइस्ता परवीन, अतिक अहमदकी पत्नी

अतिक अहमदकी पत्नी शाइस्ता परवीन पनि उमेश पालको हत्या प्रकरणमा आरोपी हुन् ।

शाइस्ता परवीनविरुद्ध सन् २००९ मा प्रयागराजको कर्नलगञ्जमा तीन वटा ठगी मुद्दा दर्ता भएका थिए, जुन अदालतमा विचाराधीन छ ।

शाइस्ता परवीन हाल फरार छिन् । उनले अदालतमा अग्रिम जमानत समेत मागेकी थिइन् तर त्यो माग अस्वीकार गरिएको थियो ।

यस वर्षको जनवरीमा, बहुजन समाज पार्टी (बसपा) ले उनलाई निकाय चुनावमा उम्मेदवार घोषणा गरेको थियो । तर केही दिन अघि मायावतीले उनको टिकट काटिदिइन् र निकाय चुनावमा अतिक अहमदको परिवारका कुनै पनि सदस्यलाई पार्टीबाट उम्मेदवार नबनाउने घोषणा गरिन् ।

atik6उमर अहमद, अतिक अहमदका जेठो छोरा

लखनऊका व्यापारी मोहित जैसवालको अपहरणमा संलग्न अतिक अहमदका जेठा छोरा उमर मुख्य आरोपी हुन् ।

उनले अगस्ट २०२२ मा लखनउमा आत्मसमर्पण गरेका थिए ।

वास्तवमा, अतिक अहमद र उमरलाई २०१८ मा मोहित जैसवाललाई अपहरण गरेको आरोप लगाइएको थियो, जसमा मोहित जैसवाललाई लखनउबाट अपहरण गरी कुटपिट गरिएको र  उनका कम्पनीहरू हडप्ने प्रयास गरिएको भनिएको थियो ।

सीबीआईले घटनाको अनुसन्धानको जिम्मा लिएपछि उमरलाई अभियुक्त बनाइएको थियो ।

उमरले कानुन पनि पढेका छन् । हाल उमर लखनउ जेलमा छन् र लखनउको सीबीआई अदालतमा मुद्दा विचाराधीन छ ।

अली अहमद, अतिक अहमदको दोस्रो छोरा

अली अहमद अतिक अहमदका दोस्रो छोरा हुन् । उनी विरुद्ध प्रयागराजमा चार वटा मुद्दा दर्ता छन् । तर उनी विरुद्धको मुख्य मुद्दा प्रयागराजमा जबरजस्ती असुलीको हो ।

अलीमाथि प्रयागराजका जीशान नामका एक प्रोपर्टी डिलरबाट पैसा असुलेको र घातक हमला गरेको आरोप छ ।

यस आरोपमा उनी विरुद्ध दङ्गा र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ ।

अलीले जुलाई २०२१ मा प्रयागराजमा आत्मसमर्पण गरे र हाल उनी प्रयागराजको नैनी जेलमा छन् ।

अतिकका दुई नाबालक छोराहरू

उमेश पालको हत्यापछि फरार रहेका अतिककी श्रीमती शाइस्ता परवीनले प्रहरीले आफ्ना दुई नाबालिग छोरालाई अवैध रूपमा घरबाट लगेर कतै राखेको आरोप लगाएकी छिन् ।

उनले दुवै छोराको नाममा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् जसमा उनले प्रहरीलाई आफ्ना दुई छोरालाई अदालतमा पेस गर्न माग गरेकी थिइन् ।

शाइस्ता परवीनले फेब्रुअरी २४ को साँझ महिला प्रहरी बिना नै उनको घरमा जबरजस्ती पसेर दुवै छोरालाई लगेर अवैध रूपमा अज्ञात स्थानमा राखेको र शारीरिक तथा मानसिक यातना दिएको शाइस्ता परवीनले आरोप लगाएकी छिन् ।

यी मध्ये एक छोरा १२ कक्षामा पढ्छन् र अर्को छोरा ९ कक्षाका विद्यार्थी हुन् ।

शाइस्ता परवीनको मागको जवाफ दिँदै प्रहरी चौकी धुमनगञ्जका सई राजेश कुमार मौर्यले अदालतलाई भने, ‘यी दुईलाई चकिया कसारी मसारी क्षेत्रमा भेटिएको सूचना पाएपछि जिल्लाको बाल कल्याण समिति (सीडब्लुसी) समक्ष उपस्थित गराएपछि बाल संरक्षण केन्द्र राजरुपपुरमा दुई मार्चदेखि राखिएको छ । ’

पुलिसले शाइस्ता परवीनको आरोप अस्वीकार गर्यो र उच्च अदालतले अतिकका छोराहरूको बन्दी कोषको याचिका खारेज गर्यो । प्रहरीका अनुसार उनी बाल संरक्षण केन्द्रमा मात्रै उपस्थित छन् । रातोपाटि

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x