१२ मंसिर २०८३, शुक्रबार

के हो रूसले युक्रेन युद्धमा प्रयोग गरिरहेको ‘कम्ब्याट डल्फिन’ ?

एसीपी संवाददाता

९ असार २०८०, शनिबार ०९:२० मा प्रकाशित

 काठमाडौं । रूसमाथि आफ्नो नियन्त्रणमा रहेको क्रिमियाली प्रायद्वीपमा लडाकू डल्फिनलाई प्रशिक्षण दिइरहेको आरोप लागेको छ । शुक्रबार बेलायती सेनाका जासुसहरूले युक्रेनी सेनाको सामना गर्न रुसले लडाकू डल्फिनलाई प्रशिक्षण दिइरहेको दाबी गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

गत वर्षदेखि सेवस्तोपोलमा रहेको ‘ब्ल्याक सी’ क्षेत्रको मुख्य आधारको सुरक्षामा रुसी नौसेनाले ठूलो लगानी गरेको बेलायती गुप्तचर सेवाको दाबीसँगै लडाकु डल्फिनबारे चर्चा सुरु भएको छ ।

के हो ‘कम्ब्याट डल्फिन’ ?

समुद्री स्तनधारी जीवन डल्फिन पृथ्वीमा रहेका केही धेरै बुद्धिमान जीवमध्येमा पर्छ । यसले मानिससँग मित्रवत सम्बन्ध कायम गर्न सक्छ ।

शरीरको बनावटका कारण डल्फिन सुपर फास्ट पौडीबाज हुन्छन् । संसारको सबैजसो जलमण्डलमा डल्फिन बसोबास गर्छन् । यिनीहरू तुलनात्मक रूपमा पानीको माथिल्लो तहमा बसे पनि हजारौं फिटमुनिको गहिराइसम्म डुबुल्की मार्न सक्छन् । डल्फिन मांसाहारी प्राणी हो र खाना छिटो पचाउनु यिनको विशेषता हो ।

विश्वका विभिन्न देशले सैन्य प्रयोजनका लागि जनावरहरूको प्रयोग गर्ने अभ्यास नयाँ होइन । यसक्रममा कुकुरदेखि समुद्री प्राणी डल्फिनसम्मको प्रयोग गर्दै आइएको छ ।

युद्धमा जनावरको प्रयोग काम, यातायात र लडाइँ तीनै प्रयोजनका लागि हुँदै आएको छ । हात्ती, घोडा, खच्चर, गधा, ऊँटलाई ढुवानी र आवतजावत गर्ने साधनको रूपमा प्रयोग हुँदै आएको छ । मुसादेखि सुंगुर हुँदै डल्फिन र समुद्री घोडाहरूलाई पनि युद्धका लागि प्रयोग गर्ने अभ्यास छ ।

खासगरी अमेरिका र तत्कालीन सोभियत युनियनले युद्धका लागि समुद्री डल्फिनलाई तालिम दिने र प्रयोग गर्ने गर्दै आएका छन् । सोभियत संघको बेलामा युक्रेनले पनि डल्फिनलाई सैन्य तालिम दिने गरेको द गार्डियनले खबर लेखेको छ ।

  खोज्न र दुश्मनका गोताखोरहरू पत्ता लगाउन प्रयोग गर्दै आएको छ ।

सैन्य तालिम प्राप्त यी डल्फिनलाई रुसी नौसेना बेसको प्रवेश बिन्दुको निगरानीका लागि प्रयोग गरिएको छ । यहाँबाट रसिया छिर्ने जहाज, पनडुब्बी वा युद्ध पोतलाई रोक्न डल्फिनको प्रयोगलाई रुसले उच्च प्राथमिकतामा राख्दै आएको छ ।

युक्रेन युद्धमा पानी भित्र दुस्मनको आवाज र दुरीलाई मापन गर्न क्षमता राख्ने डल्फिनलाई रुसले चलाखीपूर्वक प्रयोग गरिरहेको छ । डल्फिनको चाललाई संकेतमा परिणत गर्न सक्ने प्रविधिको विकास गरेको रुसले यसबाट दुस्मन सेनाबारे सूचना संकलन गर्दछन् ।

त्यसो त, अमेरिका र रुससँगै युक्रेनले पनि डल्फिनलाई युद्धमा प्रयोग गर्दै आएको छ । सोभियत संघ विघटनपछि डल्फिनलाई सैन्य कामसँग जोडिएको ठूलो परियोजना युक्रेनको पक्षमा परेको थियो ।

बेलायसी जासुसको दाबी
‘रुसले बन्दरगाहको प्रवेशद्वारमा कम्तीमा चार तहको तारबार लगाएको छ । हालैका हप्ताहरूमा, प्रशिक्षित समुद्री स्तनधारीहरूको बढ्दो सङ्ख्याले यी प्रतिरक्षाहरूमा पनि वृद्धि भएको देखिन्छ’ एएफीका अनुसार बेलायती जासुसी संस्थाले शुक्रबार जारी विज्ञप्तिमा भनेको छ, ‘चित्रहरूले बन्दरगाहमा तैरिरहेका स्तनपायीहरूको सङ्ख्या लगभग दोब्बर भएको देखाउँछ जसमा बोतल–नाक भएको डल्फिनहरू हुन सक्छन् ।’

ती जनावरहरू शत्रुका गोताखोरहरूको सामना गर्ने उद्देश्यले बनाइएको हुनसक्ने उसले उल्लेख गरेको छ ।

रुसले आर्कटिक जलक्षेत्रमा विभिन्न अभियानका लागि बेलुगा ह्वेल र सीलको प्रयोग गर्दै आएको छ । गत महिना स्वीडेनको तटमा देखा परेको हार्नेस लगाएको ह्वेल माछा सन् २०१९ मा नर्वेमा पनि भेटिएको थियो ।

सन् २०१६ मा रूसको रक्षा मन्त्रालयले सोभियत कालको सैन्य कार्यका लागि अत्यधिक बुद्धिमान सिटासियनको प्रयोगलाई पुनर्जीवित गर्ने प्रयासको एक भागको रूपमा पाँच वटा डल्फिन किन्ने प्रयास गरेको थियो ।

-एएफपी लगायत एजेन्सीहरूको सहयोगमा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x