रोजगारीको प्रलोभनमा म्यानमार पु¥याइएका करिब एक हजार नेपाली महिनौँदेखि चिनियाँ आपराधिक समूहको बन्धकमा
राम्रो रोजगारीको प्रलोभनमा म्यानमार पु¥याइएका करिब एक हजार नेपाली महिनौँदेखि चिनियाँ आपराधिक समूहको बन्धकमा परेका छन । चरम यातना हुन थालेपछि उनीहरूले उद्धारका लागि सरकारलाई हारगुहार गरेका छन ।
महिनौँदेखि नै उद्धारका लागि आग्रह हुँदै आए पनि सरकारले चासो नदिएको पीडितका परिवारको गुनासो छ । पछिल्लो समय करेन्ट लगाएर चरम यातना दिन थालेपछि पीडितका परिवार हारगुहार गर्दै प्रहरी र परराष्ट्र मन्त्रालय धाउन थालेका छन ।
म्यानमारको राजधानीबाट तीन सय ५० किलोमिटरको दूरीमा रहेको म्याओद्दी सहरमा चिनियाँहरूले गोप्य रूपमा सञ्चालन गरेको आपराधिक क्याम्पमा सयौँ नेपाली बन्धक छन । त्यहाँ उनीहरूलाई अनलाइन ठगीका काममा लगाउने गरिन्छ । तोकेअनुसार अनलाइनमार्फत ठगी गर्न नसके करेन्ट लगाएर यातना दिने गरिएको पीडितहरूले बताएका छन । फर्कन खोज्दा पनि चिनियाँले लाखौँ फिरौती माग्ने गरेका छन। केही फिरौती बुझाएर हालै फर्किएका छन् भने बुझाउन नसक्नेहरू उद्धारको पर्खाइमा छन । चरम यातनाका कारण कतिपय गम्भीर बिरामीसमेत भएको म्यानमारबाट शुक्रबार फर्किएका एक युवकले बताए । फर्किएका युवक १० हजार अमेरिकी डलर चिनियाँलाई बुझाएर मुक्त भएका हुन।
फिरौती बुझाएर हालै ६ जना फर्किएका छन । गत शुक्रबार चार तथा आइतबार दुई नेपाली युवक काठमाडौं आइपुगेका हुन । उनीहरूले मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएका छन । जसका आधारमा ब्युरोले एक चिनियाँसहित दुईजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
म्यानमारबाट उद्धार गरिदिन भनेर हालै मात्र १३ जनाको निवेदन परेको छ । त्यहाँ करिब एक हजार नेपाली चिनियाँ गिरोहबाट बन्धक बनेको सूचना छ । उनीहरूको उद्धारका लागि हाम्रोतर्फबाट पहल गरी सम्बन्धित निकायमा पत्राचार गरेका छौँ, समस्या भयावह नै रहेको बुझिन्छ । नेपालमा यसमा संलग्नमाथि अनुसन्धान अघि बढाएका छौँ ।
मानव बेचबिखन ब्युरोका एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार म्यानमारमा बन्धक बनेका १३ जनाका परिवारले उद्धारका लागि हालै निवेदन दिएका छन। ब्युरोले २७ असारमा यस्तो मानव तस्करीमा संलग्न चिनियाँ नागरिक लियाङ जुनलाई पक्राउ गरेको थियो । मंगलबार सुनिता नेपालीलाई पनि पक्राउ गरेको छ । एक वर्षदेखि नै चिनियाँ समूहले नेपालीलाई ‘अनलाइन स्क्यामिङ’मा लगेर बन्धक बनाई काममा लगाएर यातना दिएको विषयमा प्रहरीमा उजुरी पर्दै आएको थियो । केही नेपालबाट फिरौती बुझाएर फर्किएका छन् भने बुझाउन नसक्नेहरू उद्धारका लागि सरकारसँग हारगुहार गर्दै आएका छन ।
आफूहरूले महिनौँदेखि म्यानमारस्थित नेपाली दूतावासमा सम्पर्क गरे पनि विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्र भएकाले आफूहरूले केही गर्न नसक्ने जवाफ दिएको मंगलबार भेटिएका एक पीडित युवकका आफन्तले बताए । मोबाइल पनि प्रयोग गर्न नदिने र बन्धक बनाई लामो समय अवैध काममा लगाएर शोषण हुने गरेको भन्दै पीडितहरूले उद्धारका लागि आग्रह गरेका छन ।
म्यानमारमा सैनिक शासन रहेको र चिनियाँहरूको क्याम्प रहेको ठाउँमा विद्रोहीको प्रभाव रहेकाले उद्धार सम्भव नभएको भन्दै नेपाली दूतावासका अधिकारी पन्छिँदै आएका छन । सो स्थानमा भारतलगायत अन्य देशका नागरिकलाई पनि भिजिट भिसामा लगिएको छ । भारतीय नागरिकको भने हालै भारत सरकारले उद्धार गरेको छ । तर, सरकारले नै पहल गर्न नसक्दा नेपालीको उद्धार हुन सकेको छैन ।
शुक्रबार फर्किएका युवकका अनुसार उनी कार्यरत रहेको कम्पनीमा मात्र करिब ६० नेपाली छन । यस्ता दर्जनौँ कम्पनीमा नेपाली रहेको उनको भनाइ छ । धेरैजसो गत मंसिर, पुसमा त्यहाँ पुगेकाहरू छन । गएको एक–दुई महिनादेखि नै धेरैले आफ्नो उद्धारका लागि सरकारसँग आग्रह गर्दै आएका छन ।
धेरैलाई थाइल्यान्डमा कम्प्युटरसम्बन्धी काममा लगाइदिने भन्दै म्यानमार लगिएको छ । कतिपयलाई विमानबाट त केहीलाई बैैंककबाट गाडीमा राखेर म्यानमारको म्याओद्दी पु¥याइएको छ । त्यहाँ लगेपछि उनीहरूले भनेअनुसार केटी बनेर अमेरिकी नागरिकसँग च्याट गर्न लगाउने र लगानी गर्न भनेर पैसा हाल्न लगाई ठग्ने काममा लगाउँथे । उनीहरूले भिडियो च्याटमा कुरा गर्न चाहेमा केही रसियन युवतीसमेत राखिएको थियो ।
जसले ठग्न सक्छ उसलाई तलब दिने र ठग्न नसक्नेलाई करेन्ट लगाउनेदेखि विभिन्न किमिसका यातना दिने गरिएको छ । पासपोर्ट पनि सुरुमै चिनियाँले लिने गरेका छन । दिनमा एकपटक मात्र उनीहरूलाई मोबाइल चलाउन दिइन्छ । मानव बेचबिखन ब्युरोका एसएसपी श्रेष्ठ भन्छन्, ‘पीडितका अनुसार एक किसिमको दास बनाएर उनीहरूलाई त्यहाँ चिनियाँले राखेका छन ।’
ठूलो कम्पाउन्ड भएको क्याम्पभित्र राखेर त्यसरी अवैध काममा लगाउने गरिएको छ । जहाँ भाग्न पनि सम्भव नभएको आइतबार फर्किएका एक पीडितले बताए । फिरौती पनि अवैध माध्यमबाट बुझाउन लगाउने गरिएको छ ।
आइतबार फर्किएका युवक नेपालमा लघुवित्तको जागिर छाडेर त्यहाँ पुगेका थिए । सुरुको दुई महिनामा दुई लाख कमाइ भएको र त्यसपछि चिनियाँले बन्धक बनाएर यातना दिएको उनले बताए । चार महिनासम्म पनि सरकारले उद्धार नगरेपछि आफू फिरौती बुझाउन बाध्य भएको उनको भनाइ छ । उनलाई चिनियाँ गिरोहसम्म सम्पर्क गराइदिने सुनिता नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरिसकेको छ ।
धेरैजसो कमजोर आर्थिक अवस्था भएका युवक म्यानमार पुगेका छन। उनीहरूले फिरौती पनि बुझाउन सकेका छैनन । छोराको उद्धारको आग्रह गर्दै नुवाकोटका एक वृद्ध मंगलबार बबरमहलस्थित मानव बेचबिखन अनुसन्धान ब्युरोको कार्यालय पुगेका थिए ।
म्यानमार मात्र होइन, लाओस, कम्बोडियालगायत देशमा पनि चिनियाँले नेपाली लगेर यस्तो अपराधमा लगाउने गरेका छन । लाओसमा पनि केही नेपाली बन्धक छन् भने केही हालै फर्किएका छन । लाओसमा पठाउन भूमिका खेलेको आरोपमा प्रहरीले गत ५ असारमा पदम नेपाली र श्यामकुमार तामाङलाई पक्राउ गरेको थियो । त्यहाँ अरू पनि नेपाली चिनियाँबाट बन्धक बनेको मानव बेचबिखन ब्युरोका एसएसपी श्रेष्ठ बताउँछन ।
लाओसमा मानव तस्करीको आरोपमा गत पुसमा ब्युरोले चिनियाँ नागरिकद्वय चेन याङ र रुवान चाओहाङलाई पक्राउ गरेको थियो । उनीहरूले दर्जनौँ नेपालीलाई लाओस पु¥याएर शोषण गरेका थिए । त्यहाँबाट भागेर आएका पीडितको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन । भिजिट भिसामा कम्बोडिया पठाएर बन्धक बनाई अवैध काममा लगाउने मेनपावर सञ्चालकलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको छ ।
सिनामंगलस्थित आयुष ओभरसिज प्रालिका सञ्चालक सप्तरीका उदीतनारायण साहलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले गत वर्ष असोजमा पक्राउ गरेको थियो । महोत्तरीका एक युवकलाई २७ चैत ०७८ मा उनले दुबई हुँदै भिजिट भिसामा कम्बोडिया पु¥याएका थिए । त्यहाँ चिनियाँले सञ्चालन गरेको कल सेन्टरमा बन्धक बनाई अनलाइनमार्फत हुने ठगीको काममा लगाइएको थियो ।
गत वर्ष २२ भदौमा थाइल्यान्डस्थित नेपाली दूतावास तथा गैरआवासीय नेपाली संघ, कम्बोडियाको पहलमा उनको उद्धार भएको थियो । उद्धार गरिएका युवकको जाहेरीका आधारमा मेनपावर सञ्चालक झासहित पब्लिक रिलेसन अफिसर दिवाकर झा र रिसेप्सनिस्ट राखी भन्ने कुमारी सिंहलाई ब्युरोले पक्राउ गरेको थियो ।
साथीमार्फत चिनजान भएकी राखी सिंहमार्फत पीडित युवक सो मेनपावरमा पुगेका थिए । कम्बोडियाले नेपालीलाई ‘अन अराइभल भिसा’ सहजै नदिने भएकाले केही दिन दुबईमा राखेर त्यहाँबाट कम्बोडिया लगिएको थियो । अहिले पनि केही नेपाली चिनियाँ गिरोहबाट पीडित रहेको स्रोत बताउँछ ।
तीन देशमा यसरी चिनियाँ गिरोहले मानव तस्करी गरी अनलाइन ठगीमा लगाउन थालेपछि गत ७ जुनमा ‘ग्लोबल वार्निङ’ नै जारी गरिएको थियो । जहाँ दशौँ हजार व्यक्ति भएको इन्टरपोलको विज्ञप्तिमा उल्लेख छ ।
विगतमा चिनियाँले नेपालमा पनि यस्ता अवैध अखडा चलाएर विदेशीलाई ठग्दै आएका थिए । प्रहरीले एकैपटक एक सय २२ चिनियाँलाई पक्राउ गरेर चीन निष्कासन गरेको थियो । नेपालमा कडाइ भएपछि चिनियाँले कम्बोडिया, म्यानमार, लाओसलगायत देशबाट विश्वभरि अनलाइन ठगीको धन्दा चलाएका छन । म्यानमारमा सरकार कमजोर भएकाले पछिल्लो समय उनीहरूले त्यहाँबाट यस्तो धन्दा चलाउँदै आएका छन ।


