९ मंसिर २०८३, मंगलवार

रुसले खाद्य सम्झौता नगर्दा विश्वभर मूल्यवृद्धिको जोखिम

एसीपी संवाददाता

८ श्रावण २०८०, सोमबार ०६:५३ मा प्रकाशित

युक्रेनको सूर्यमुखी तेल, मकै, गहुँ र जौ निर्यात प्रभावित हुने, अफ्रिकी देशमा खाद्य संकटको चेतावनी

किभ — रुसले ब्ल्याक सी हुँदै गरिने खाद्यान्न निर्यातसम्बन्धी सम्झौता नवीकरण गर्न अस्वीकार गरेपछि विश्वभर मूल्यवृद्धि र केही देशमा खाद्य संकट निम्तिने जोखिम बढेको छ । गत वर्ष रुसले खाद्यान्न निर्यातमा छुट दिने गरी युक्रेनसँग सम्झौता गरेको थियो । तर, आफूसँग सम्बन्धित सर्तहरूको पालना नगरिएको भन्दै उसले सम्झौता नवीकरण गर्न अस्वीकार गरेको हो ।

रुसले युक्रेनको खाद्यान्न राखिएको बन्दरगाहमा पनि आक्रमण थालेको छ । रुसी आक्रमणबाट ओडेसा बन्दरगाहमा ६० हजार टन खाद्यान्न नष्ट भएको कीभले दावी गरेको छ ।

रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेसँगै यसको सैन्य बलले ब्ल्याक सीमा रहेका बन्दरगाहलाई नियन्त्रणमा लिएको थियो । यस क्रममा ती बन्दरगाहमा निर्यात गर्न लागिएका दुई करोड टन खाद्यान्न रोकिँदा वैश्विक स्तरमा खाद्यान्नको मूल्य बढेको थियो । यही कारण युक्रेनको खाद्यान्नमा निर्भर रहेका मध्यपूर्व र अफ्रिकाका केही देशमा खाद्य संकट पनि देखापरेको थियो ।

लामो समयसम्मको प्रयासपछि टर्की र संयुक्त राष्ट्रसंघको मध्यस्थतामा गत वर्षको जुलाईमा रुस र युक्रेनबीच ब्ल्याक सी हुँदै खाद्यान्न निर्यातको सम्झौता भएको थियो । सम्झौतापछि खाद्यान्न ढुवानी सहज हुँदा विश्वभर खाद्य मूल्य २० प्रतिशतले घटेको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले जनाएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x