पाकिस्तान रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो
पाकिस्तानको सिन्ध प्रान्तमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ । १०० जना घाइते भएका छन् ।
कराचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेसको रेल आइतबार दिउँसो सिन्ध प्रान्तको संघार जिल्लामा दुर्घटना भएको थियो ।
रेलको इन्जिन छुट्टिएपछि १० वटा डिब्बा पल्टिएको र ३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
पाकिस्तानका रेल मन्त्री ख्वाजा साद रफिकले पत्रकार सम्मेलन गरी दुर्घटनाबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन् ।
जियो न्यूजको रिपोर्ट अनुसार रावलपिंडी जाँदै गरेको हजारा एक्सप्रेस सहारा रेलवे स्टेशन नजिकै शहजादपुर र नवाबशाहको बीचमा आइतबार दुर्घटनामा परेको थियो। जसमा १०० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि सिन्धको नवाबशाहस्थित पिपुल्स मेडिकल अस्पतालमा लगिएको थियो, जहाँ उनीहरुको उपचार भइरहेको छ । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको मिडिया रिपोर्टमा दाबी गरिएको छ । यस्तो अवस्थामा मृतकको संख्या अझै बढ्न सक्छ ।


