९ मंसिर २०८३, मंगलवार

कहाँ गए चीनका रक्षामन्त्री ? बेपत्ता भएपछि पदबाट हटाइएका थिए विदेशमन्त्री

एसीपी संवाददाता

२७ भाद्र २०८०, बुधबार ०८:०२ मा प्रकाशित

चीनमा केही समयअघिसम्म चीन गाङ देशका विदेशमन्त्री थिए । उनी महिनौसम्म सार्वजनिक स्थानमा देखिएनन् । उनी बेपत्ता भएको चर्चा चलिरहँदा नै गत जुलाई महिनामा उनलाई पदबाट बर्खास्त गरियो ।

यतिबेला उनको स्थानमा वाङ यी पुनः विदेशमन्त्री नियुक्त भएका छन् । यसअघि पनि यीले यो पद सम्हालिसकेका थिए । चीन गाङ बेपत्ता भएको र पदबाट बर्खास्त भएको खबर नसेलाउँदै यतिबेला चीनका रक्षामन्त्री ली साङ्फु पनि बेपत्ता भएको खबर आएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ली साङ्फु दुई हप्तादेखि कुनै पनि कार्यक्रममा नदेखिएको बताएका छन् ।

यस्तोमा जापानका लागि अमेरिकी राजदूत रहम इमानुएलले पनि चीनका रक्षामन्त्री पछिल्लो दुई सातादेखि सार्वजनिक स्थलमा नदेखिएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । रिपोर्टहरूका अनुसार चिनियाँ रक्षामन्त्री ली अगस्ट २९ देखि देखिएका छैनन् । यतिबेला उनीमाथि सन् २०१७ को भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । यसअघि बर्खास्तमा पर्ने विदेशमन्त्री चीन गाङको विवाहित भएर पनि टेलिभिजन पत्रकारसँग अफेयर रहेको चर्चा चलेको थियो ।

हाल बेपत्ता भए भनिएका रक्षामन्त्री ली साङ्फुले पछिल्लोपटक चीन-अफ्रिका शान्ति र सुरक्षा फोरमलाई सम्बोधन गरेका थिए । त्यसअघि उनी एसियाको प्रमुख रक्षा शिखर सम्मेलन सांग्रिला फोरममा सहभागी हुन रुस पुगेका थिए । सो क्रममा लीले ताइवानको विषयमा बोल्दै अमेरिकाले आगोसँग खेलिरहेको भन्दै चेतावनी दिएका थिए । चीनले ताइवानलाई आफ्नो भूमि भएको दाबी गर्दा अमेरिकाले ताइवानलाई हतियार बेचिरहेको छ ।

यतिबेला ली साङ्फु लामो समययता सार्वजनिक नभएपछि उनलाई पनि चीनको सरकारले पदबाट हटाउन त लागेको होइन भन्ने आशंका उब्जिएको छ । शिलापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x