७ आश्विन २०८३, बुधबार

बन्धक बनाइएका नागरिकबारे थाइल्यान्डले हमाससँग इरानमा गर्‍यो वार्ता

एसीपी संवाददाता

१७ कार्तिक २०८०, शुक्रबार ०८:२७ मा प्रकाशित

उचित समय’मा रिहा गर्ने हमासको वचन

बैंकक — थाई अधिकारीहरूले बन्धक बनाइएका आफ्ना नागरिकबारे हमास समूहसँग कुराकानी गरेका छन् । बन्धक बनाइएका २२ थाईको अवस्थाका बारेमा गत साता इरानमा हमाससँग प्रत्यक्ष वार्ता गरेको थाई प्रतिनिधिमण्डलका प्रमुखले बताएका छन् ।

वार्ताकारहरूले गत बिहीबार तेहरानमा हमासका अधिकारीहरूलाई भेटेका थिए । भेटमा हमासले थाई बन्धकलाई ‘उचित समय’ मा रिहा गरिने वचन दिएको अरिपेन उत्तरासिनले बुधबार बैङ्ककमा पत्रकारहरूसँगको कुराकानीमा बताए ।

इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा गाजापट्टीबाट हमासले सुरु गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय मानिसको ज्यान गएको थियो । हमासले दुई सय ३० भन्दा बढीलाई बन्धक बनाएको थियो । जवाफमा इजराइली सेनाले गाजामाथि हमला गर्दा आठ हजार सात सयभन्दा धेरै गाजाबासी मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । हमासको बन्धकमा नेपालका विपिन जोशी पनि परेको इजरायल सरकारले पुष्टि गरेको छ ।

थाई संसद्का अध्यक्षद्वारा नियुक्त तीन सदस्यीय वार्ता टोलीको नेतृत्व गर्ने अरिपेनले इरानमा हमासका अधिकारीहरूसँग दुई घण्टा बैठक बसेको जानकारी दिए । ‘उनीहरू निर्दोष रहेको भन्दै मैले थाई बन्धकको रिहाइका लागि कुरा गरेँ,’ उनले भने, ‘उनीहरूले थाई बन्धकको राम्रो हेरचाह गरिएको मलाई आश्वासन दिएका छन् तर उनीहरूको रिहाइको मिति बताउन सकेनन्, उनीहरू उचित समयको प्रतीक्षा गरिरहेका थिए ।’

प्रधानमन्त्री श्रेथा थाभिसिनले थाई बन्धकहरूलाई स्वदेश फर्काउन कडा मेहनत गरिरहेको बताएका छन् । साथै विदेशमन्त्रीले यसै साता कतार र इजिप्टसँग कुराकानी गरेका छन् ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीले खाडी क्षेत्रको स्थितिको ‘जटिलता’ भए पनि बन्धकहरूलाई मुक्त गराउने प्रयासलाई अगाडि बढाइरहेको बताएका छन् ।

द्वन्द्व सुरु हुँदा इजराइलमा करिब ३० हजार थाई नागरिकले काम गरिरहेका थिए । तीमध्ये अधिकांश कृषि क्षेत्रमा संलग्न थिए । मन्त्रालयका अनुसार द्वन्द्वमा कम्तीमा ३२ थाईको मृत्यु र १९ जना घाइते भएका थिए । थाइल्यान्डले इजरायलमा रहेका सात हजार नागरिकलाई विमानमार्फत स्वदेश फर्काएको छ । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x