९ मंसिर २०८३, मंगलवार

लक्ष्मीको पूजाको दिन साँझ १३९७ मेगावाट पिक डिमान्ड, ५०० मेगावाट भारत निर्यात हुने

एसीपी संवाददाता

२६ कार्तिक २०८०, आईतवार १३:०७ मा प्रकाशित

काठमाडौं। लक्ष्मीको पूजाको दिन साँझ एक हजार ३९७ मेगावाट बिजुली उच्च माग (पिक डिमान्ड) पुग्ने प्रक्षेपण गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणले गत वर्षको लक्ष्मी पुजाको दिनको तुलनामा ९२ मेगावाट पिक डिमान्ड बढ्ने प्रक्षेपण गरेको छ। गत वर्ष १३०५ मेगावाट पुगेको थियो। ‘कलकारखाना बन्द छन्। व्यावसायिक भवनहरूमा पनि बिजुली खपत हुँदैन,’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘धेरै ठूलो लोड नबढ्ने भएका कारण व्यवस्थापन सहजै गर्न सकिन्छ। लाइटिङ लोड कति नै हुन्छ र?‘

घिसिङले मातहतका सबै निकाय र कर्मचारीलाई लक्ष्मी पूजाको दिन कुनै समस्या नआओस् भनेर ‘अलर्ट’ रहन निर्देशन दिएका छन्।

घिसिङका अनुसार लक्ष्मी पूजाको लागि सबै तयारी गरेर पर्याप्त बिजुली दिन प्राधिकरण तयार अवस्थामा छ। उनका अनुसार प्रसारणलाइन सट डाउन गरेर प्राधिकरणले मर्मत र स्तरोन्नतिको काम भइरहेका थिए। ती सबैको काम रोकिएको छ।

‘खिम्तीदेखि लामोसाँघुसम्मको लाइन बन्द गरेर हामीले मर्मत गरिरहेका थियौं। कन्डक्टर फेरिरहेका थियौं। तिहारका लागि हामीले त्यो लाइन जोडेका छौं,’ उनले भने, ‘वैकल्पिक व्यवस्था गर्नैपर्छ। सिंगल लाइन हुँदा ट्रिपिङ हुने समस्या हुन्छ। हामीले वैकल्पिक व्यवस्था गरेका छौं।‘ उनले दीपावली लाइटको पर्व भएकाले सबैलाई ढुक्कसँग बाल्न आग्रह समेत गरे।

आजभन्दा सात वर्ष पहिले अर्थात् २०७३ को लक्ष्मी पूजाकै दिन १८ घण्टासम्मको लोडसेडिङ अन्त्य भएको थियो।

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नै थिए। परीक्षणका रूपमा उनले लक्ष्मी पूजालाई छानेका थिए। यही दिन नेपालमा बिजुलीको माग सबैभन्दा धेरै हुने गरेको थियो। उनको व्यवस्थापन सफल भएपछि कुलमानको चुलिएको थियो।

प्राधिकरणले प्रणालीमा पर्याप्त बिजुली रहेका कारण लक्ष्मी पूजाकै दिन ५०० मेगावाट बिजुली भारत निर्यात गर्न लागेको छ। घिसिङले लक्ष्मी पूजाको दिन ५०० मेगावाट बिजुली भारत पठाउने तयारी भएको बताए। ‘ कुनै समस्या छैन। पर्याप्त बिजुली छ,’ उनले भने, ‘ उक्त दिन भारत समेत निर्यात हुन्छ।

लोड डिस्प्याच सेन्टर (एलडीसी)का प्रमुख सुरेश बहादुर भट्टराईले लोड नै नभएका कारण तयारी गरेर बस्नुपर्ने अवस्था नरहेको बताए। ‘के तयारी गर्नपर्छ भन्या, बत्ती नभए तयारी गर्ने हो,’ ‘ उनले भने, ‘लोड नै छैन। केही गर्नुपर्दैन।‘

नेपाल विद्युत् प्राधिकरणको तथ्यांक अनुसार अहिले समग्र सिस्टमको पिक डिमान्ड एक हजार ९८५ मेगावाट रहेको छ। जसमा नेशनल पिक डिमान्ड एक हजार ५६७ मेगावाट रहेको छ। औद्योगिक लोड घटेसँगै नेशनल पिक डिमान्ड पनि घटेको छ। प्राधिकरणका अनुसार केही दिन पहिलेसम्म एक हजार ७०० मेगावाट नेशनल पिक डिमान्ड थियो।

नेपाल विद्युत् प्राधिकरणले ९ हजार ६६८ मेगावाट आवर, प्राधिकरणको सहायक कम्पनीले ७ हजार ४१९ मेगावाट आवर, निजी क्षेत्रले २१  हजार ३१६ मेगावाट आवर उत्पादन गरिरहेका छन्। आन्तरिक खपत भएर बढी भएको ८ हजार ९५४ मेगावाट आवर बिजुली भारत निर्यात भइरहेको छ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी अर्ध-जलाशययुक्त जलविद्युत आयोजना निर्माण भएपछि नेपालले विद्युतमा गुणात्मक फड्को मारेको हो। तर आत्मनिर्भर हुन भने सकेको छैन। अधिकांश नदी प्रवाहमा आधारित आयोजना रहेका छन्। जसको हिउँदको उत्पादन ७० प्रतिशतभन्दा बढी घट्छ। सोही कारण दुई हजार ८०० मेगावाट जडित क्षमता पुगे पनि हिउँदको आन्तरिक माग पूरा गर्न आयात गर्नैपर्ने अवस्था छ। हिउँदमा ४५० मेगावाटसम्म भारतबाट आयात गरेर आन्तरिक माग पूरा गर्ने गरिएको छ।नेपालखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x