आयोध्या धाम बन्यो सनातन धर्म लागि स्वर्ग
एजेन्सी = राम मन्दिरमा रामलल्लाको अभिषेक गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी दललाई निशाना बनाएका छन् । उनले राम मन्दिर बनाउँदा आगलागी हुन्छ भनेर केहीले भनेका थिए तर फेरि सोच्नुपर्छ किनभने भगवान राम आगो होइन ऊर्जा हुन् ।
विपक्षी दलको नाम नलिई प्रधानमन्त्री मोदीले भने, ‘एक समय थियो जब केही मानिसहरूले राम मन्दिर बनेमा आगो लाग्ने भन्ने गर्थे । त्यस्ता मानिसहरूले भारतको सामाजिक भावनाको शुद्धता बुझ्न सकेनन्। रामललाको यस मन्दिरको निर्माण भारतीय समाजको शान्ति, धैर्यता, आपसी सद्भाव र समन्वयको प्रतीक पनि हो। हामीले देखिरहेका छौं कि यो निर्माणले कुनै आगोलाई जन्म दिइरहेको छैन, तर ऊर्जालाई।
उनले थप भने, “हाम्रो रामलला अब पालमा बस्ने छैन। हाम्रो रामलला अब यही दिव्य मन्दिरमा बस्नेछन्। आज हाम्रो राम आएको छ। जे भए पनि देश र संसारका कुना–कुनामा रहेका रामभक्तहरूले महशुस गरिरहनु पर्छ भन्ने मेरो दृढ विश्वास र अगाध विश्वास छ ।
३१ वर्ष अगाडि ६ डिसेम्बर १९९२ का दिन हिन्दुवादी कार्यकर्ता र समर्थकहरूको लाखौं भिडले अयोध्यामा रहेको बाबरी मस्जिदको संरचानलाई ध्वस्त पारेका थिए । त्यही मस्जिद रहेको स्थानमा राम मन्दिरको निर्माण भएको छ । सन् १५२६ मा भारत आएका पहिलो मुगल मुस्लिम सम्राट बाबरको नाममा उनका सेनापति मीर बांकीले सन् १५२८ मा अयोध्यामा बाबरी मस्जिदको निर्माण गराएका थिए । हिन्दुहरूले रामको जन्मभूमि रहेको स्थानमा पुरानो मन्दिरलाई भत्काएर उक्त मस्जिदको स्थापना गरिएको मान्यता राख्दै आएका थिए । रामको जन्मभूमिलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको थियो ।
भारतीय जनता पार्टीले १९८० को दशकमा राम मन्दिर निर्माणको विषयलाई आफ्नो प्रमुख मुद्दा बनाएको थियो । त्यही मुद्दाले भाजपालाई बलियो राजनीतिक शक्ति बनाउँदै लगेर यतिबेला केन्द्रदेखि प्रदेशहरूमा सरकार चलाउने तहमा पुर्याएको छ । सरकारमा आएपछि राम मन्दिर निर्माण गर्ने घोषणालाई भाजपाले पूरा गरेको छ ।
९ नोभेम्बर २०१९ मा सुप्रिम कोर्टले विवादित बाबरी मस्जिद र राम जन्मभूमिको जग्गाका विषयमा फैसला सुनाएको थियो । कोर्टले विवादित क्षेत्रको विषयमा राम जन्मभूमि मन्दिरको पक्षमा फैसला दिएको थियो । मस्जिद निर्माणका लागि अन्यत्र ५ एकड जमिन दिने निर्णय सुनाइएको थियो । त्यसको केही महिनापछि प्रधानमन्त्री मोदीले ५ अगस्त २०२० मा मन्दिरको शिल्यानास गरेका थिए । मन्दिरको गर्भ गृह र पहिल्लो तल्लाको निर्माण पूरा भएपछि रामको मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।
रामको बालरुपको मूर्ति मन्दिरमा राखिएको छ । ७० एकड क्षेत्रमा निर्माण हुँदै गरेको राम मन्दिर परियोजना सम्पन्न हुँदासम्म २ हजार करोड रुपैयाँको लागत अनुमान गरिएको छ । अगामी वर्ष २०२५ सम्म मन्दिरको सबै कार्य पूरा हुने लक्ष्य राखिएको छ ।


