९ मंसिर २०८३, मंगलवार

भारतले ३ खर्ब ३१ अर्बमा अमेरिकाबाट ३१ वटा एमक्यू-९ बी प्रेडेटर ड्रोन खरिद गर्ने

एसीपी संवाददाता

१९ माघ २०८०, शुक्रबार १५:११ मा प्रकाशित

भारतले अमेरिकाबाट ३१ वटा शक्तिशाली एमक्यू-९ बी प्रेडेटर ड्रोन खरिद गर्ने अनुमति पाएको छ । अमेरिकी विदेश मन्त्रालयले भारतलाई ती मानवरहित शक्तिशाली ड्रोन बेच्न अनुमति दिएको हो ।

गत वर्ष सन् २०२३ को जुन महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमण गएका बेला भारत र अमेरिकाबीच चार अर्ब अमेरिकी डलरको हतियार सम्झौता भएको थियो । सोही सम्झौताअनुसार अब भारतले ३ खर्ब ३१ अर्ब भारतीय मुद्राको ३१ शक्तिशाली ड्रोन, त्यसमा लाग्ने क्षेप्यास्त्र र अन्य उपकरण प्राप्त गर्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

हालसम्म भारतले अमेरिकाबाट एमक्यू-९ बी प्रेडेटर ड्रोन भाडामा लिएर मात्र प्रयोग गरिरहेको थियो । अब भने भारतले अमेरिकाबाट ३१ वटा यस्तो ड्रोन खरिद गर्नेछ । पेन्टागनकाअनुसार जनरल एटमिक्स एरोनोटिकल सिस्टम कम्पनीले एमक्यू–९ ड्रोन भारतका लागि तयार गर्नेछ । यस सम्झौतामा सञ्चार र निगरानी गर्ने उपकरण पनि समावेश छन् भने भारतलाई १७० एजीएम क्षेप्यास्त्र, ११४ आर हेलफायर क्षेप्यास्त्र र ३१० लेजर स्माल डायामिरटर बम पनि दिइनेछ ।

एमक्यू-९ बी ड्रोन मानवरहित विमान हो, जसलाई टाढैबाट उडाएर नियन्त्रण गर्न सकिन्छ । यसमा अत्याधुनिक रडार प्रणाली र सेन्सर छ । यसलाई स्याटेलाइटको मद्दतमा पनि नियन्त्रण गर्न सकिन्छ । यो ड्रोन ४० घण्टासम्म दिनरात हरेक मौसममा उड्न सक्छ । यो ड्रोनले २१ सय ५५ केजी विस्फोटक पदार्थ पनि बोक्न सक्छ ।

यो ड्रोन विशेष गरी खुफिया जानकारी जुटाउन, निगरानी गर्न, गस्ती र आक्रमणकै लागि पनि प्रयोग गर्न सकिन्छ । यो ड्रोनलाई युद्धक विमानकै रूपमा प्रयोग गर्न सकिन्छ किनभने यसबाट दुश्मनको ठेगानामा गोलाबारी गर्न सकिन्छ भने यसबाट क्षेप्यास्त्र पनि हान्न सकिन्छ ।

भारतले यो ड्रोनको प्रयोग दुश्मनको निगरानी गर्न, खुफिया जानकारी प्राप्त गर्न, आपत्‌कालीन राहत, खोज र बचाउ अभियान साथै युद्धमै पनि प्रयोग गर्नसक्छ । उपलब्ध जानकारीअनुसार अमेरिकाबाट खरिद गरिने ३१ एमक्यू प्रेडेटर ड्रोन भारतीय नौसेना र वायु सेनालाई वितरण गरिनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x