२७ श्रावण २०८३, बुधबार

अयोध्याको राम मन्दिर दर्शन गर्न पुगे नेपाली सांसद

एसीपी संवाददाता

२५ माघ २०८०, बिहीबार १०:४७ मा प्रकाशित

काठमाडौँ । भारतको अयोध्यामा राम मन्दिर उद्घाटन भएपछि नेपाली सांसदहरू मन्दिरको दर्शन गर्न पुगेका छन् । उद्घाटनको दिन विभिन्न देशका प्रतिनिधिहरू त्यहाँ उपस्थित थिए । सर्वसाधारणका लागि खुल्ला गरेपछि भने पर्यटकको रूपमा त्यसको दर्शन गर्ने नेपाली टोली पहिलो भएको बताइएको छ ।  प्रतिनिधि सभा अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोरको नेतृत्वमा सांसद तथा समितिका कर्मचारीहरू माघ १६ गते भारतको दिल्ली पुग्दा कार्यतालिकामा अयोध्याको राम मन्दिर दर्शन गर्ने थिएन । भर्खर उद्घाटन भएको राम मन्दिर दर्शन गर्ने इच्छा सांसदहरूलाई नभएको होइन । उनीहरूले भारतीय दूतावाससँग त्यो इच्छा पनि जाहेर गरेका थिए तर सुरक्षाको कारण देखाउँदै राममन्दिर दर्शन गर्ने कार्य भ्रमण कार्यतालिकामा राखिएको थिएन ।

सांसदहरूलाई उत्तर प्रदेश लग्ने, त्यहाँका मुख्यमन्त्री, राज्यपाल, विधान सभाका सभाध्यक्षलगायत उच्च स्तरीय भेटघाट तथा काशी विश्वनाथको दर्शन गर्ने कार्यतालिका थियो तर अयोध्याको राम मन्दिर दर्शन गर्ने कुरा उल्लेख थिएन । समितिका सभापति राजकिशोर यादवले भने, ‘उत्तर प्रदेश जाने भएपछि राम मन्दिरको दर्शन नगर्ने कुरा हुँदैन । हामीले पनि सम्बन्धित ठाउँमा प्रस्ताव राख्यौँ तर भर्खर उद्घाटन भएको कारण सुरक्षा व्यवस्था निकै कडा गरिएको रहेछ । त्यसैले तालिकामा राख्न गाह्रो छ भनेपछि हामीले पनि त्यसो भए ठिकै छ भनेर छाडेका थियौँ ।’

भ्रमण तालिकामा नै नभएपछि राम मन्दिरको दर्शन गर्ने मन उनीहरूले मारिसकेका थिए । भारत सरकारले बनाएको तालिकाअनुसार माघ २३ गते बिहान १० बजे नेपाली प्रतिनिधिमण्डल उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्न गएका थिए ।

भेटको क्रममा मुख्यमन्त्री योगीले नै ‘तपाईंहरु भगवान् श्रीरामको दर्शन गर्नुभयो कि नाइँ ?’ भनी सोधेका थिए । त्यसपछि समितिका सभापति यादवले आफूहरूलाई इच्छा भएको तर राम मन्दिरमा दर्शन कार्यक्रम कार्यतालिकामा नै नराखिएको सुनाएका थिए ।

त्यसपछि मुख्यमन्त्री योगीले ‘यस्तो पनि कहीँ हुन्छ ?, लखनउ आउने अनि राम मन्दिरको दर्शन नगरी फर्किने हुन्छ ?’ भन्दै तुरुन्तै फोन गरेर नेपालबाट आएका सांसदहरूलाई दर्शनको व्यवस्था मिलाउन निर्देशन दिएका थिए । रातोपाटि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x