टीकापुरको सयौँ विघा सरकारी जग्गा प्लटिङ गरेर विक्री, नगर विकास समितिका तीन पूर्वअध्यक्षसहित २४९ विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। कैलालीको टीकापुरमा सयौँ विघा सरकारी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ । अख्तियारले टीकापुर नगर विकास समितिका तीन जना पूर्वअध्यक्षसहित २ सय ४९ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेतको मिलेमतोमा जग्गा हिनामिना भएको अख्तियारले विषय अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।
नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्थाबमोजिम उपलब्ध गराउनुपर्नेमा सो नगरी नगर विकास समितिका पदाधिकारी तथा कर्मचारीसमेतको संलग्नतामा तत्कालीन प्रथम तहमा जग्गा व्यक्तिहरूसँग मिलेमतो गरी व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा साबिकको टीकापुर विकास समितिको नामका नक्कली कागजात खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।


