२ श्रावण २०८३, शनिबार

पत्रकार महासंघले आन्दोलन गर्ने

एसीपी संवाददाता

२० कार्तिक २०७७, बिहीबार २३:४९ मा प्रकाशित

नेपाल पत्रकार महासंघले तीन ठूला सञ्चार गृहमा कालो ब्यानर टाँसेर धर्ना दिने भएको छ । यही कात्तिक २६ गते कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारहरुको स–सम्मान पुनर्वहालीको माग गर्दै आन्दोलन गर्न लागिएको पत्रकार महासंघका सचिव रामप्रसाद दाहालले जानकारी दिए ।

कोरोनाकालको तलब–भत्ता उपलब्ध गराउन, दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन पाँच दिने अल्टिमेटम दिँदै महासंघले ती सञ्चारगृहमा बिहीबार पत्र पठाएको उनले बताए ।

अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालि, कारोबार दैनिकको प्रकाशन गृह टीबीआई पब्लिकेसन्स प्रा. लि. र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्यूज पब्लिकेसन प्रा.लि.लाई पटक–पटक लिखित र मौखिक पत्र तथा वार्ताबाट महासंघले गरेको आग्रह बमोजिम श्रम समस्या अझै हल नगरेकाले पाँच दिनभित्र माग सम्बोधन नगरे पहिलो चरणको आन्दोलन थाल्ने जानकारी गराइएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको निर्णय बमोजिम पत्राचार गरिएको हो ।

पाँच दिनभित्र सम्बद्ध सञ्चार गृहको व्यवस्थापनले आन्तरिक रुपमै समस्या सम्बोधन गरी महासंघलाई आन्दोलन जानबाट रोक्ने विश्वासका साथ पत्राचार गरिएको महासंघका सचिव दाहालले जानकारी दिए । दाहालकाअनुसार, माग पुरा नभए महासंघको नेतृत्वकै अगुवाईमा हुने पहिलो चरणको आन्दोलन सम्पन्न गरी दोस्रो चरणमा सम्बद्ध सञ्चार गृहका सञ्चालकको निवास घेराउ र त्यतिले पनि नभए तेस्रो चरणमा पीडित सञ्चारकर्मीलाई सत्याग्रहमा राख्नेबारे महासंघ छलफलमा रहेको छ । २६ गते हुने आन्दोलनको तयारी थाल्न महासंघले सम्बद्ध मिडिया प्रतिष्ठानमा रहेका महासंघका शाखालाई निर्देशन समेत दिइएको छ । रातोपाटी बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x