२ श्रावण २०८३, शनिबार

नेपालमा छैन् कोरोनाको उपचार रेम्डेसिभिर पाउने भारतबाट आशा

एसीपी संवाददाता

२६ कार्तिक २०७७, बुधबार १८:०६ मा प्रकाशित

चार हजार पाँच सय पर्ने रेम्डेसिभिरको १२ हजार, त्यही पनि पाउन मुस्किल, सरकारले आयात नगर्दा समस्या भएको चिकित्सकको भनाइ

कोरोना भाइरस संक्रमितको उपचारका लागि सहज रूपमा उपलब्ध हुनुपर्ने औषधि रेम्डेसिभिरको अभाव हुँदा अत्यधिक महँगो भएको छ । नेपालमा नपाउँदा भारतबाट ल्याउनु परेपछि तीन गुणा बढी मूल्य तिर्नुपरिरहेको छ । 

पछिल्लो समय कोरोना भाइरस संक्रमितको उपचारमा रेम्डेसिभिरको प्रयोग हुँदै आएको छ । यसले संक्रमितको ज्यान जोगाउन मद्दत गरेको चिकित्सकहरूले बताएका छन् । तर, सहज रूपमा उपलब्ध नहुँदा महँगोमा खरिद गर्नु परिरहेको छ । सरकारले रेम्डिसिभिर औषधि आयात नगरेपछि दोब्बर मूल्य तिर्दासमेत नपाइने गरेको भेरी अस्पतालका प्लाज्मा थेरापी विज्ञ डा. खगेन्द्रजंग शाहले बताए । 

उनका अनुसार सहज रूपमा आपूर्ति भए एक भाइलको चार हजार पाँच सय रुपैयाँ पर्छ । तर, अहिले बिरामीले १२ हजार रुपैयाँसम्म तिर्न परिरहेको छ । त्यति गर्दा पनि सहज रूपमा पाइने गरेको छैन । ‘श्वासप्रश्वासमा समस्या भएका संक्रमितलाई पाँच भाइल रेम्डेसिभिर दिनुपर्छ । सहज आपूर्ति नहुँदा एकजना बिरामीको ५० हजार रुपैयाँ खर्च भइरहेको छ,’ डा. शाहले भने । 

नेपालगन्जका औषधि पसलमा नपाइने भएकाले बिरामीहरू भारतमा निर्भर रहेका छन् । पैसा भए पनि संक्रमितका आफन्तले किन्ने ठाउँ नपाएको गुनासो गरेका छन् । ‘सरकारले रेम्डेसिभिर औषधि बिरामीलाई नदिए पनि किन्ने ठाउँको व्यवस्था गरिदिएको भए बिरामीका आफन्तलाई धेरै राहत मिल्ने थियो,’ डा. शाहले भने । 
सरकारले औषधि आपूर्तिको व्यवस्था नगर्दा बिरामीले कालोबजारीमा ल्याएको औषधि किन्न बाध्य भएका छन् ।

नेपालगन्जमा नपाइएपछि भारतको रुपैडियाबाट ल्याउने गरेका छन् । नेपाल–भारत सीमानाका सिल भएका कारण औषधि खरिद गर्न सहज नभएको कोरोना संक्रमितका आफन्त कमल न्यौपानेले बताए । ‘नेपालमा पाइँदैन । भारतमा जान खोज्यो नाका सिल छ । पहुँच भएकाहरू भनसुन गरेर सहज रूपमा जान सक्छन् । नहुनेहरूका बिरामी औषधि नपाएर मर्ने भए,’ उनले भने । 

श्वासप्रश्वासमा समस्या देखिएका बिरामीलाई रेम्डेसिभिर औषधि दिँदै दिइँदै आएको छ । अहिलेसम्म रेम्डेसिभिर औषधि कोरोना उपचारमा प्रभावकारी रहेको उनको भनाइ छ । ‘सरकारले औषधि निःशुल्क नदिए पनि किन्ने वातावरण बनाइदिनुपर्‍यो । यहाँ त किन्न चाहेर पनि नपाइने अवस्था छ । यसले उपचारमा थप समस्या भएको छ,’ डा. शाहले भने, ‘रेम्डेसिभिर औषधि नपाएर संक्रमितले ज्यान गुमाउने अवस्था छ ।’साभार नयाँपत्रिकाबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x