२१ बैशाख २०८३, सोमबार

आक्रमणपछि चिनियाँ कम्पनीद्वारा २ हजार पाकिस्तानी कामदार निकाला

एसीपी संवाददाता

१८ चैत्र २०८०, आईतवार १३:५४ मा प्रकाशित

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आतंकवादी आक्रमणमा गत मंगलबार पाँच चिनियाँ नागरिक र एक चालकको मृत्यु भएको थियो । त्यसपछि चिनियाँ कम्पनीहरुले उक्त प्रान्तको हाइड्रोपावर प्रोजेक्टमा काम रोकेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

बिहीबार पावर कन्स्ट्रक्सन कोअपरेसन अफ चाइनाले तारबेला हाइड्रोपावर प्रोजेक्टमा कार्यरत २ हजार कामदारलाई निकालेको पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

दासु र डाइमर–भाषा ड्याम्समा सुरक्षाको कारण देखाउँदै चिनियाँ कम्पनीले काम रोकेको हो । यी दुई प्रोजेक्टमा १ हजार चिनियाँ इन्जिनियरले काम गर्दै आएका छन् । उनीहरुले पनि सुरक्षाको कारण देखाउँदै काम रोकेका हुन् । यसबीचमा उक्त आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मेबारी लिएको छैन ।

तारबेला हाइड्रोपावरको (५औं विस्तार) मे २०२६ सम्म निर्माण सक्ने योजना छ । यो आयोजनामा विश्व बैंक र एसियन पूर्वाधार लगानी बैंकले लगानी गरेका छन् । चिनियाँ कम्पनीले काम रोकेपछि भने पाकिस्तानी कामदार अप्ठ्यारोमा परेका छन् ।

यस्तै, चिनियाँ अनुसन्धानकर्ता पनि घटनाको अनुसन्धान गर्न शुक्रबार पाकिस्तान पुगेका छन् । उत्तरपश्चिम पाकिस्तानमा एक आतंकवादी आक्रमणमा गत मंगलबार एउटा प्रमुख बाँध निर्माणस्थलमा काम गरिरहेका पाँच चिनियाँ नागरिक र एक चालकको मृत्यु भएको थियो ।

पाकिस्तान बेइजिङको सबैभन्दा नजिकको क्षेत्रीय सहयोगी हो, तर पाकिस्तानमा चिनियाँ श्रमिकहरूको सुरक्षा लामो समयदेखि चिन्ताको विषय बनेको छ । ‘हमलामा पाँच चिनियाँ र उनीहरूको स्थानीय चालक मारिएका छन्,’ खबैर पख्तुनख्वा प्रान्तका वरिष्ठ प्रहरी अधिकारी मुहम्मद अली गन्डापुरले भने ।

उनका अनुसार चाइना गेजुवा ग्रुप कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत् बाँधस्थलबाट उक्त सवारी राजधानी इस्लामाबाद जाँदै गर्दा बेशम सहर नजिकै बम विस्फोट भएको थियो ।

गहिरो घाटी रहेको एउटा पहाडी सडकमा हमला भएको थियो । सन् २०२१ मा सोही निर्माण स्थलमा इन्जिनियरहरूलाई लैजाँदै गरेको बस बम हमलामा परेको थियो । उक्त हमलामा नौ चिनियाँ श्रमिकसहित १३ जनाको मृत्यु भएको थियो ।

चिनियाँ लगानीको आधारशिला मानिएको दक्षिण पश्चिम पाकिस्तानमा ग्वादर बन्दरगाहको कार्यालयमा हमला गर्ने प्रयासमा सुरक्षा बलले कम्तीमा सात आतंकवादीलाई मारेको केही दिनपछि मंगलबारको हमला भएको हो ।

बेइजिङले हालका वर्षहरूमा पूर्वाधारहरूलाई बढावा दिन पाकिस्तानमा अर्बौं डलर लगानी गरेको छ । यसमा उसको ‘बेल्ट एन्ड रोड’ पहल पनि सामेल छ । उक्त पहलअन्तर्गत चीनले विश्वभरमा २० खर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेको छ ।

यद्यपि चिनियाँ अनुदानमा सञ्चालित परियोजनाहरूले विशेषरूपमा पृथकतावादी समूहरूबीच असन्तोष सिर्जना गरेको छ । उनीहरूले यस्तो लगानीले स्थानीय बासिन्दालाई अत्यन्तै कम लाभ हासिल हुने र अधिकांश नोकरी बाहिरी मानिसले पाउने बताएका छन् ।

सन् २०१९ मा अरब सागरसम्म रणनीतक पहुँच प्रदान गर्ने ग्वादरस्थित प्रमुख चिनियाँ समर्थित गहिरो पानीको बन्दरगाह नजिकैको बलुचिस्तान प्रान्तमा एउटा लक्जरी होटलमा बन्दुकधारीहरूले हमला गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको थियो ।

साथै सन् २०२० जुनमा बलुच विद्रोहीहरूले कराँचीको व्यापारिक राजधानी कराँचीमा आंशिकरूपमा चिनियाँ कम्पनीहरूको स्वामित्व रहेको पाकिस्तान स्टक एक्सचेन्जलाई निशाना बनाएका थिए ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x