नेकपा कार्यकारी अध्यक्ष प्रचण्डद्वारा पार्टीको आगामी मार्ग भन्दै दिए छुट्टै प्रस्ताव
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आगामी मार्ग चित्रका लागि भन्दै छुट्टै प्रस्ताव सचिवालय बैठकमा पेश गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्ताव अध्ययनका लागि सबै सचिवालय सदस्यहरुलाई वितरण समेत गरिएको छ । बैठकमा यसअघि सचिवालय बोलाउन माग गर्दै प्रचण्डसहित ५ सदस्यले अध्यक्ष केपी ओलीलाई पेश गरेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र समेत नेताहरुलाई बितरण गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले पार्टी विवादलाई कार्यसूची नै बनाएर समाधान गर्ने निष्कर्ष निकालेको छ । बैठकमा स्थायी कमिटीको निर्णय कार्यान्वयन, कोभिड उपचार, रोकथाम र नियन्त्रणका प्रयास र पार्टी–सरकार सम्बन्धका विषयमा पनि छलफल भएको श्रेष्ठले बताउनुभयो । भदौ २६ गतेको स्थायी कमिटी बैठकपछि जारी गरिएको आन्तरिक पार्टी निर्देशन पनि सबै सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको उहाले जानकारी दिनुभयो ।
नेकपा सचिवालय बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । प्रवक्ता श्रेष्ठले पार्टीको विवाद कुनै विदेशी शक्तिको इशारामा नभएको दाबी समेत गर्नुभयो ।


