कांग्रेसमा केन्द्रीय कार्यसमितिमा १० जना समायोजन, चिनिया मुखपत्रको प्रति कांग्रेसको आपत्ति
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिमा १० जना नयाँ सदस्य समायोजन गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले राप्रपाका नेता सुनिलबहादुर थापा सहित सो पार्टीका केन्द्रीय कार्यसमितिका १६ जना सदस्य सहित जम्मा ३१ जना कांग्रेस पार्टीमा प्रवेश गरेकामध्ये १० जनालाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने निर्णय गरेको हो । जसअनुसार थापालाई सहमहामन्त्री बनाइएको छ ।
बैठकले क्रियाशील सदस्यताको विवरण मंसिर मसान्तसम्म काठमाडौंमा ल्याउने पनि निर्णय भएको कांग्रेसका सहमहामन्त्री डा प्रकाशरण महत्तले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले सांसद सूर्यकुमार केसीको निधनपछि रिक्त रहेको कांग्रेस कोटाको समानुपातिक सांसदमा मोहन पाण्डेलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
चिनिया मुखपत्र ग्लोबल टाइम्सको टिप्पणी प्रति आपत्ति
बैठकले चिनिया मुखपत्र ग्लोबल टाइम्सको नोभेम्बर १० मा प्रकाशित लेखमा कांग्रेसलाई भारत परस्त पार्टीको रुपमा चित्रित गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त लेखमा सीमा अतिक्रमण सम्बन्धमा सार्वजनिक भएको प्रतिवेदनलाई गलत र दुष्प्रचारको संज्ञा दिइएको भन्दै निन्दा समेत गरिएको सहमहामन्त्री महत्तले जानकारी दिनुभयो । नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता माथि कुनैपनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लंघनको विपक्षमा कांग्रेस सधैं अडिग रहेको उहाले बताउनुभयो ।
कर्णाली प्रदेश सभाका सदस्य तथा विपक्षी दलका नेता जीवनबहादुर शाही सहितको टोलीले विस्तृत स्थलगत भ्रमण गरी नेपालको भूमिमा अतिक्रमण भएको प्रतिवेदन दिएपछि पनि सरकारले यस सम्बन्धमा कुनै छानविन गर्न पहल नगर्नु सरकारको यस्तो गैर जिम्मेवार प्रवृति भएको कांग्रेसको ठहर छ ।
त्यस्तै बैठकले देशमा व्याप्त महामारी, भ्रष्टाचार, मूल्यवृद्धि, कालावजारी, कृतिम अभाव, वेरोजगारी, किसानका समस्या सरकारको अकर्मण्यता, गैर जिम्मेवारी र अलोकतान्त्रिक चिन्तनको उपज भएको ठहर पनि गरेको छ । पार्टीभित्रका समस्या समाधानका लागि विस्तृत छलफल गर्न तिहारपछि पुनः बैठक बस्ने निर्णय भएको महत्तले जानकारी दिनुभयो ।


