गिरीबन्धु प्रकरणले रन्थनिए ओली, नीतिगत भ्रष्टाचार ढाकछोप गर्न सर्वाेच्च अदालत र कांग्रेसविरुद्ध भडास पोख्दै
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली सर्वाेच्च अदालतको एउटा फैसलाले रन्थनिएका छन्। ओली नेतृत्वको मन्त्रिपरिषद्ले गरेको नीतिगत भ्रष्टाचारमा सर्वाेच्च अदालतले लगाम लगाइदिएपछि उनी भडास पोख्न थालेका छन्।
गिरिबन्धु टीइस्टेटको जग्गा सट्टापट्टा गर्ने निर्णयविरुद्ध सर्वाेच्चले पुनरावलोकनसमेत हुन नपाउनेगरी फैसला गरेपछि ओली अदालतविरुद्ध नै आगो भइरहेका हुन्।
बुधबार एमाले संसदीय दलको बैठकमा ओलीले गिरिबन्धुको हदबन्दी भन्दा बढीको जग्गा बिक्री गर्न संसदले नै कानुन बनाएको भन्दै त्यसलाई अपरिपक्व भनेर न्यायाधीशहरुले पूर्वाग्रह देखाएको बताए। ‘अदालतले ऐन बनाउनू, ऐन बनाएर मात्रै यस्ता कामहरु अगाडि बढाउनू भनेपछि अदालतको आदेश बमोजिम हामीले ऐन बनाएका हौं, नियम बनाएका हौं,’ ओलीले दाबी गरे, ‘त्यो ऐनमा विभिन्न शर्तहरु राखिएको छ, ती शर्तहरु पूरा भएर यो ठाउँको जग्गा यो ठाउँमा किन्ने, यो ठाउँमा सट्टापट्टा गर्ने, यो ठाउँको जग्गा बिक्री गर्ने भनिएको पनि छैन ।’
‘अदालतले अहिले पनि फैसला गर्दा हदभन्दा बढी त्यो जग्गा दिन पाइँदैन भन्नुपर्यो नि, दिनचाहिँ मिल्छ, तर यसको अपरिपक्वता देखियो (भनेको छ) । हामी सम्मानित अदालतको इज्जत गर्छौं, सम्मान गर्छौं । अदालतको फैसला मानेर कहिले जेल जीवन बिताएका छौं, कहिले विभिन्न मुद्दा भोगेका छौं, कहिले सरकारबाट हटेका छौं । तर अदालतलाई सम्मान गरेका छौं र गर्छौं।’
ओलीले गिरीबन्धु प्रकरणमा कांग्रेसलाई नै आरोप लगाएका छन् । ‘एक पटक ५१ विघा, एक पटक १९ विघा कमिसन खाएर सट्टापट्टाको नाममा बिक्री गर्न दिएको छ,’ उनले भने।
गिरिबन्धु टिएस्टेटको जग्गाका सट्टापट्टा गर्ने सन्दर्भमा तत्कालीन मन्त्रीपरिषदले २०७८ वैशाख १३ गते गरेको निर्णय र त्यससंग सम्बन्धित काम कारवाहीका सम्बन्धमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको थियो। फैसलाले गिरीबन्धु टीइस्टेट लगायताका हदबन्दी छुट पाएका सरकारी तथा सार्वजानीक जग्गामा नजर गाडेर बसेकाले नजर बन्द गरिदिएको छ।


