भाजपामा राजु बिष्टको दोस्रो इनिङ
विराटनगर —पश्चिम बंगालको दार्जिलिङमा भारतीय जनता पार्टीका राजु बिष्ट दोस्रो पटक निर्वाचित भएका छन् । उनले बंगालको सत्ताधारी दल अखिल भारत त्रिणमुल कंग्रेसका उम्मेदवार गोपाल लामालाई पराजित गरेका हुन् ।
लामालाई दार्जिलिङको बलियो क्षेत्रीय दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) समर्थन थियो । बिष्टले ६ लाख ७९ हजार ३ सय ३१ मत पाउँदा लामाले ५ लाख ८ सय ६ मत मात्रै पाए।
दार्जीलिङ संसदीय क्षेत्रमा भाजपाको चौथो जित हो । सन् २००९ देखि नै भाजपाले निरन्तर जित्दै आइरहेको छ। सन् २००९ मा जसवन्त सिंह दार्जीलिङबाट लोकसभाको निम्ति निर्वाचित भएका थिए भने सन् २०१४ मा भाजपाका सुरेन्दर सिंह अहलुवालियाले जितेका थिए । त्यसपछि सन् २०१९ को लोकसभा चुनावमा विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चालगायत क्षेत्रीय दलहरूको समर्थनमा बिष्टले जितेका थिए। गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चाले यसपटक पनि बिष्टलाई सघाएको थियो ।
मणिपुरका नेपाली भाषी बिष्टले नेपालीभाषी मतकै सहयोगमा दोस्रो पटक जितेको विश्लेषण गरिएको छ । ‘ ममता बेनर्जी गोर्खाल्यान्ड मुद्दामा अनुदार छिन्’, भारतीय मिडियाहरूले उल्लेख गरेका छन्, ‘त्यही कारण दार्जिलिङका मतदाताले ममताका उम्मेदवारलाई जिताउन चाहेनन् ।’ ईकान्तिपुर


