हाम्रो सम्बन्ध भारत बाट थप बलियो हुने – प्रधानमन्त्री
भारतले नेपाल आफ्नो प्राथमिकतामा पर्ने साझेदार रहेको प्रष्ट पारेको छ। भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण सकिए लगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ।
विदेश सचिवको भ्रमणले छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार रहेको पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ।
भारतीय विदेश सचिव आफ्नो दुईदिने नेपाल भ्रमण सम्पन्न गरी सोमबार मात्र नयाँ दिल्ली फर्किएका छन्।
भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै हाम्रा द्विपक्षीय सम्बन्धलाई अघि बढाउन मद्दत पनि गरेको छ।’
परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा मिस्री आइतबार नेपालको औपचारिक भ्रमणमा आएका थिए । गत महिना विदेश सचिवका रूपमा कार्यभार सम्हालेपछि मिस्रीको पहिलो नेपाल भ्रमण हो ।
विदेश सचिवले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए।


