३ श्रावण २०८३, आईतवार

नेपालबाट बिद्युत किन्ने प्रस्ताव भारतलाई स्वीकार

एसीपी संवाददाता

१४ मंसिर २०७७, आईतवार ०५:४६ मा प्रकाशित

नेपालमा उत्पादित बिजुली किन्न भारत सकारात्मक देखिएको छ। नेपाल र भारतका ऊर्जा मन्त्रालयसँग सरोकार राख्ने निकायबीच भएको भर्चुअल छलफलमा भारतीय पक्षले नेपालमा बढी भएको बिजुली खरिद गर्न इच्छुक भएको बताए।

नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दुइपक्षीय छलफलमा भारतीय अधिकारी नेपालमा खपत भएर बचत भएको बिजुली खरिद गर्न इच्छुक भएको बताए। ‘नेपालमा उत्पादित बिजुली खरिद गर्न भारतीय पक्ष इच्छुक भएको जानकारी गराउनुभयो,’ उनले भने, ‘हामीले भारतीय पक्षलाई बिजुली खरिदका लागि प्रस्ताव पठाउन अनुरोध गरेका छौं।’

निमित्त कार्यकारी निर्देशक शाक्यले भारतीय पक्षलाई बिजुली खरिदको प्रस्ताव तथा आवश्यक तयारी गर्न कम्तीमा तीन महिना समय मागेको बताउँछन्। ‘विद्युत् खरिदको लागि आवश्यक प्रस्ताव पठाउन भारतीय पक्षलाई अनुरोध ग¥यौं। उहाँहरू निकै सकारात्मक देखिनुभएको छ,’ उनले भने, ‘भारतीय प्रस्ताव आएसँगै आवश्यक छलफल गरेर बिक्री मूल्य तय गर्नेछौं।’

निमित्त कार्यकारी निर्देशक शाक्यले नेपालको बिजुली कुन दररेटमा बिक्री गर्ने भन्ने ढाँचा अहिलेसम्म टुंगो नलागेको बताए। भर्चुअल बैठकमा भारतीय विद्युत् व्यापार निगम लिमिटेड (एनभिभिएन) का कार्यकारी निर्देशक डा राजीव मिश्र लगायतले सहभागिता जनाएका थिए। निमित्त कार्यकारी निर्देशक शाक्यले दुवै पक्षबीच सहज वातावरण भएको खण्डमा आगामी जेठदेखि भारतमा बिजुली निर्यात गर्न सकिने बताए। ‘दुवै पक्षबीच बिजुली खरिद–बिक्रीको टुंगो लागेको खण्डमा आगामी जेठदेखि बिजुली निर्यात गर्न सक्नेछौं,’ उनले भने, ‘भारतले पठाएको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि मात्रै बेचबिखनको बाटो खुल्नेछ।’

शाक्यले नेपालको बिजुली आधिकारिक रूपमा बिक्री नभए पनि अ‍ैंचोपैंचो गर्दै आइरहेको बताए। प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएसँगै नेपालमा उत्पादित बिजुली बचत हुने जनाएको छ। कोभिडले रोकिएका झण्डै एक हजार मेगावाट क्षमताका आयोजनाको बिजुली चालु आवभित्रै राष्ट्रिय ग्रिडमा जोडिने प्रक्षेपण गरिएको छ।

प्राधिकरणले आर्थिक वर्ष ०७६/७७ मा कुल सात अर्ब ७४ करोड युनिटमध्ये छिमेकी मुलुक भारतबाट एक अर्ब ७२ करोड युनिट आयात गरेर माग पूरा गरेको हो। भारतबाट आयात गरिएको बिजुलीको मूल्य १३ अर्ब ५८ करोडभन्दा बढी हुन्छ। गत आवमा खपत भएको ७७४१ गिगावाट आवर (सात अर्ब ७४ करोड युनिट) बिजुलीमध्ये भारतबाट २२.३४ प्रतिशत आयात गरिएको थियो।

गत आर्थिक वर्षमा प्राधिकरण मातहतका आयोजनाबाट तीन अर्ब दुई करोड युनिट आपूर्ति भएको थियो भने निजी क्षेत्रका कम्पनीबाट दुई अर्ब ९९ करोड युनिट खरिद गरिएको थियो। प्राधिकरणले अघिल्ला आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा भारतबाट आयात हुने बिजुलीको परिणाम स्वाट्टै घटेको जनाएको छ।

यस्तो छ बिजुलीको कारोवार

आर्थिक वर्ष ०७४/७५ मा कुल विद्युत् खपत सात अर्ब पाँच करोड युनिट रहेकोमा भारतबाट दुई अर्ब ५८ करोड युनिट आयात गरिएको थियो। यसका लागि प्राधिकरणले १९ करोड ८६ करोड रूपैयाँ खर्च गरेको थियो। आव ०७५/७६ मा खपत भएको सात अर्ब ५५ करोड युनिटमध्ये भारतबाट दुई अर्ब ८१ करोड युनिट आयात गरेको थियो। यसमा २२ अर्ब ९५ करोड रूपैयाँ खर्च भएको थियो। आव ०७६/७७ मा खपत भएको सात अर्ब ७४ करोड युनिटमध्ये भारतबाट एक अर्ब ७२ करोड युनिट आयात भएको छ। यसको लागि प्राधिकरणले १३ अर्ब ५८ करोड रूपैयाँ खर्च गरेको छ।प्राधिकरणले चालु आवमा यो घटेर ५ देखि १० प्रतिशत मात्र आयातको अंश रहने बताएको छ। नागरिकन्युज बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x