युनेस्को क्लबद्वारा ९० वटा खानेपानी धारा जडान
खानेपानीको अभावमा लामो समयदेखि चरम समस्या भोगीरहेका बाँके जिल्लाका अति विपन्न ९० परिवारका लागि बाँके युनेस्को क्लबले कतार च्यारेटी नेपालको सहयोगमा ९० वटा खानेपानी धारा जडान गरेको छ ।
बाँके जिल्लाको पिछिडिएको मानिने नरैनापुर गाउँपालिका वडा नम्बर २ र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ९० अति विपन्न परिवारले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएकोले उनिहरुको घरमा खानेपानी धारा जडान गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले आर्थिक अभावका कारण खानेपानीको धारा राख्न नसकेकाहरुको घरमा कतार च्यारेटी नेपालको आर्थिक सहयोगमा धाराहरु जडान गरिएको बताउनुभयो ।
नरैनापुर गाउँपालिका २ मा ४५ घर परिवारका लागि ४५ वटा र नेपालगञ्ज २० मा ४५ वटा परिवारका लागि ४५ वटा गरेर ९० वटा हैन्डपम्प जडान गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।
उहाँले विपन्नताका कारण खानेपानीको अभाव झेल्दै आएकाहरुको घरमा स्थानीय तहको समन्वयमा धारा जडान गरिएको बताउनुभयो ।
जिल्लाको नरैनापुर र नेपालगन्जमा जडान गरिएका हैन्डपम्पबाट धारा जडान गरिएका वरिपरिका घरपरिवारपनि लाभान्वित हुने कतार च्यारेटी नेपालका इन्जिनियर आमिर फैजलले बताउनुभयो ।
कतार च्यारेटी नेपालका प्रोग्राम म्यानेजर ईर्शाद शेषले ती ९० वटा धाराबाट ९० परिवारका पाँचसय बढीले प्रत्यक्ष रुपमा खानेपानीको उपभोग गर्न पाउने बताउनुभयो ।
९० वटा धारा जडानका लागि ३३ लाख ६५ हजार ५५० रुपियाँ खर्च गरिएको क्लबले जनाएको छ ।
विगत केही समयदेखि बाँके जिल्लामा कतार च्यारेटी नेपालले क्लब मार्फत विपन्नहरुको आर्थिक अवस्थामा सुधारका लागि विभिन्न प्रकारका सहयोगहरु गर्दै आएको छ ।


