मुस्लिम समुदायको हक अधिकार सुनिश्चित गर्ने अभियानमा आफु र आफ्नो पार्टीको पूर्ण समर्थन – किशोर
नेपाली कांग्रेसका सह महामन्त्री किशोर सिंह राठौरले मुस्लिम समुदायको हक अधिकार सुनिश्चित गर्ने अभियानमा आफु र आफ्नो पार्टीको पूर्ण साथ रहेको बताउनु भएको छ।
नेपाल मुस्लिम संघ बाँकेद्वारा शनिवार आयोजित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ को वडा भेलालाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले सो कुरा बताउनु भएको हो ।
नेपाली कांग्रेस कै नेतृत्वमा बनेको बर्तमान संबिधानले मुस्लिम समुदायको छुट्टै पहिचान कायम गरेको नेता राठौरको भनाई छ।
उहाँले भन्नुभयो, ‘लोकतन्त्र कमजोर भए कांग्रेस कमजोर हुन्छ, कांग्रेस कमजोर भए मुस्लिम समुदायको हक अधिकारसमेत कमजोर हुन्छ ।’
उहाँले कांग्रेस बिकास गर्ने र सबै समुदायको हकहितको संरक्षण गर्ने पार्टी भएको दावी गर्दै बाँकेमा मुस्लिम समुदायलाई नेपाली कांग्रेसले जहिलेपनी प्राथमिकतामा राखेको दावी गर्नुभयो। सहमहामन्त्री राठौरले भन्नुभयो- ‘ २०४८ सालदेखी हालसम्म भएका आम निर्वाचनमा उम्मेद्वार होस वा समानुपातिकमा होस मुस्लिम समुदायका ब्यक्तिलाई कांग्रेसले स्थान दिएको छ ।’
मुस्लिम संघ बाँकेका अध्यक्ष सुफियान खानको अध्यक्षता एवम् पार्टीका सहमहामन्त्री राठौंरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्वसांसद मोहम्मद याकुव अन्सारी, कांग्रेस नेता सुदिप नरसिंह राणा, बीरेन्द्रबहादुर शाह, बदरुद्दिन अन्सारी, सामुदायिक रेडियो प्रसारक संघ(अकोराव) नेपालका केन्द्रिय सदस्य मोहम्मद आरिफ अन्सारी, फातिमा फाउण्डेशनका अध्यक्ष मैमुना सिद्धिकी, कांग्रेस नेता अकबर शेख लगायतले धारणा राखेका थिए।



