१ श्रावण २०८३, शुक्रबार

चिनियाँ ठेकेदारको लापरबाहीले नेपालीले दशैमा पनि दु:ख पाँउदै , नारायणगढ , बुटवल सडकखण्ड अलपत्र

एसीपी संवाददाता

२३ आश्विन २०८१, बुधबार ०९:५५ मा प्रकाशित

माघसम्म एकतर्फी सडक कालोपत्रे गर्न अल्टिमेटम

ठेकेदारले काम गर्ने छाँटकाँट देखाएको छैन, दशैं अगाडि नै काम गर्नुस् भन्दा पनि गरेन, अब तिहार पछि मात्रै गर्ने भनेको छ ।’


चितवन । पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम यतिबेला ठप्प छ ।

विस्तारको काम रोकिएपछि पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. ५ मा पर्ने सडक क्षेत्रका खाल्डामा धान फलेको देखिन्छ ।

गत असारदेखि नै नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम रोकिएको छ । नेपालीहरुका प्रमुख चाडब दशैं–तिहारका बेलामा पनि साँघुरो र खाल्डाखुल्डी सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

ठाउँ ठाउँमा ठेकेदारले बनाउनका लागि भनेर सडक भत्काएर छाडेको छ तर नबनाउँदा झनै हैरानी, सास्ती र घण्टौ जाममा बस्नुपर्छ । केही दिन अगाडि मात्रै दाउन्नेमा सडक भासिँदा तीन दिनसम्म जाम सहनुपरेको थियो ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामको सम्झौता २०७५ साल चैत ८ गते भएको थियो । ११३ किलोमिटर लामो यो सडकखण्डलाई चाँडै काम सक्न भन्दै दुई खण्डमा विभाजन गरेर अलग–अलग ठेक्का लगाइएको थियो । दुवै खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ ले पाएको छ ।

सडक विस्तारको काम सक्ने समय २०७९ साउन २२ गते थियो । तर त्यसको थप दुई वर्ष नाघिसक्दा पनि सडक विस्तारको कामको प्रगति दुवैतिर गरेर ५२ प्रतिशत हाराहारीमा छ ।

पूर्वी खण्ड भनिने गैंडाकोट–दाउन्ने ६४.४२ किलोमिटर र पश्चिम खण्ड भनिने दाउन्ने–बुटबल ४८.५८ किलोमिटर सडक १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजारमा ठेक्का सम्झौता भएको थियो । चाइना स्टेट कन्स्ट्रक्सनले गैंडाकोट–दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा ठेक्का लिएको हो ।

सरकारले यो सडकखण्डको ठेक्काको म्याद २०७९ भदौमा पहिलोपटक, २०८० साउनमा दोस्रोपटक र २०८१ साउनमा तेस्रोपटक म्याद थप गरिएको छ । तेस्रो पटक थपिएको म्यादअनुसार २०८२ साउन ८ सम्म काम सकिसक्नुपर्ने छ तर काम भने आधा बाँकी छ ।

तेस्रोपटक म्याद थप गरिएको २ महिना सकिँदा दुवै खण्डमा काम ठप्प छ । पूर्वी खण्डमा यो बीचमा डेढ किलोमिटर सडक कालोपत्रे गरिएको आयोजना प्रमुख अनुक्षा घिमिरे बताउँछिन् । उनले सामान्य बिग्रेको सडक मर्मतभन्दा बाहेक अरु काम नभएको बताइन् ।

पश्चिम खण्डमा असार पछि नै काम ठप्प भएको आयोजना प्रमुख शशांक मिश्रले बताए । उनका अनुसार ठेकेदार कम्पनीले दशैं–तिहार पछि मात्रै काम गर्ने जनाएको छ ।

दाउन्नेमा भासिएको सडक मर्मत तथा अन्य ठाउँमा सडक मर्मत बाहेक अरू ठोस काम तीन महिनाको अवधिमा नभएको मिश्रले जनाए । ‘ठेकेदारले काम गर्ने छाँटकाँट देखाएको छैन,’ मिश्रले भने, ‘दशैं अगाडि नै काम गर्नुस् भन्दा पनि गरेन, अब तिहार पछि मात्रै गर्ने भनेको छ ।’

सरकारको ‘वार्निङ्ग नोटिस’ 

एसियाली विकास बैंकका आयोजना निर्देशक चुडाराज ढकालले आउने माघसम्म एकतर्फी सडक कालोपत्रे गर्न अल्टिमेटम दिएको बताए ।

‘टाइमकार्ड नै बनाएर हामीले दिएका छौं, उसले आउने जनवरी महिना भित्र भनेको छ, त्यो पनि खासै केही भएन,’ निर्देशक ढकालले भने, ‘माघसम्म ८० प्रतिशत एकतर्फी पिचको काम सक्नू भन्ने वार्निङ्ग नोटिस छ ।’

आयोजनाका तर्फबाट ठेकेदारलाई गर्नुपर्ने सबै सहजीकरण, भुक्तानी जस्ता काम गरिएको भन्दै उनले ठेकेदारको काम नगर्ने नियत हो की भन्ने आशंका भएको बताए । ‘यसरी नै काम सुस्त भए त ठेक्का तोडेर नयाँ प्रकृयामा जानुपर्ने सुझाव आफूहरुको रहन्छ,’ उनले भने ।

गत भदौ १६ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मासहितका सरकारी अधिकारीले नारायणगढ–बुटवल सडकखण्डको अवलोकन गरेका थिए ।

अवलोकनपछि चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै मन्त्री दाहालले नारायणगढ–बुटवल सडकखण्ड ‘क्रोनिक’ हुने अवस्थामा पुगेको बताए । अहिले भैरहेको ठेकेदारले काम नगरेर हैरान बनाएको र ठेक्का तोडेर जाँदा थप लामो प्रक्रियामा प्रवेश गर्नुपर्ने हुँदा के गर्ने भन्ने विषयमा नै सरकार दोधारमा परेको उनले बताए ।

मन्त्री दाहालले थपिएको एक वर्षको म्याद भित्र काम सक्नका लागि निर्माण कम्पनीलाई अधिकतम सहजीकरण गर्ने र सो अवधिमा पनि काम नसके ठेक्का तोड्न सरकार बाध्य हुने बताउँदै आएका छन् ।

मन्त्रालयका सचिव शर्मा भने ठेकेदार कम्पनीलाई धम्काएर, फकाएर भए पनि काम गराइछाड्ने बताउँछन् । उनले ठेकेदारले अब लगातार काम गरे १५ महिना भित्र पोजेक्ट सक्न कुनै समस्या नरहेको बताए ।

‘अहिलेको ठेकेदार कम्पनीले साइटमा सबै प्लान्टहरु, निर्माण सामग्रीहरु, उपकरणहरु ल्याएर राखेको छ ठेक्का तोड्दा फेरि पुरानै प्रकृयामा फर्किदा समय धेरै लाग्छ । त्यसो हुँदा यही ठेकेदारलाई नै काम सक्न लगाउने सरकारको सोच छ,’ सचिव शर्माले भने । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x