रास्वपा का कार्यकर्ताहरू माथी अश्रुग्यास र पानीको फोहरा
सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेको छ ।
आइतबार दिउँसो पोखराको सहिद चोकमा रास्वपा कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए । प्रशासनले सहिद चोक क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।
साथै रास्वपा कार्यकर्ताहरू र प्रहरीबीच धकेलाधकेल भएको छ। त्यसपछि प्रहरीले प्रदर्शनकारीहरूलाई लक्षित गर्दै अश्रुग्यास हानेको छ। भिड तितरबितर गर्न अश्रुग्यास प्रहार गरिएको प्रहरीको भनाइ छ।
सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले गत शुक्रबार पक्राउ गरी पोखरा लगेको थियो। लामिछानेलाई आइतबार दिउँसो जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।
अदालत परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले आफूलाई अदालतले न्याय दिने विश्वास रहेको बताए भने देशैभरिबाट केपी शर्मा ओली नेतृत्वको सरकारको विरोधमा उत्रन आह्वान गरेका थिए।



