१ श्रावण २०८३, शुक्रबार

बाँकेमा डेंगीको संक्रमण रोक्न सरोकारवालासंग छलफल

एसीपी संवाददाता

१५ कार्तिक २०८१, बिहीबार १५:५६ मा प्रकाशित

बाँके जिल्लामा डेंगीको संक्रमण बढ्दै गएको छ । चालू आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि असोज मसान्तसम्म तीन सय ४८ जना डेंगीबाट संक्रमित भएका स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो भेरी अस्पताल, निजी मेडिकल कलेज र स्वास्थ्य संस्थामा ल्याव परीक्षणबाट पुष्टि भएको संख्या हो । आर्थिक वर्ष २०८०/०८१ मा तीन सय ९४ जना डेंगी संक्रमित फेला परेका थिए । यो वर्षमा तीन महिनामै तीन सय ४८ जनामा संक्रमण देखिएकाले बाँकेमा डेंगीको अवस्था भयावह देखिएको उहाँले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा एक सय ४९ जनामा मात्रै डेंगीको संक्रमण देखिएको थियो । लामखुट्टेको टोकाईबाट सर्ने डेंगीको संक्रमण गत वर्ष भन्दा यो वर्ष देशभरी घटेको तथ्यांकले देखाए पनि बाँकेमा भने अस्वभाविक ढंगले बढेको गौतमले बताउनुभयो ।

यो पटक भने स्थानीय लामखट्टेले नै टोकेर संक्रमण फैलिएकाले देशभर संक्रमणदर घटे पनि बाँकेमा भने बढ्दै गएको हो । संक्रमित तीन सय ४८ जनामध्ये एक सय ९५ जना नेपालगञ्ज उपमहानगरपालिकाका हुन् । अरु भने अन्य पालिकाका संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

डेंगीबाट सबैभन्दा बढी प्रभावित नेपालगञ्ज उपमहानगरपालिकाले यसको रोकथाम र नियन्त्रणका लागि सम्वद्ध सरोकारवालासँग आज यहाँ अन्तरक्रिया कार्यक्रम गरेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । डेंगी रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार खोज र नष्ट गर अभियानलाई प्रभावकारी गराउने उद्देश्यका साथ अन्तरक्रिया गरिएको उनले बताएहो ।

स्वास्थ्य महाशाखा प्रमुख चन्दका अनुसार डेंगी नियन्त्रणका लागि सरोकारवालासंग समन्वय तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, वडास्तरमा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा र प्युपाहरु नष्ट गर्ने, विद्यालय तहमा शिक्षक तथा विद्यार्थीहरुलाई स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने, बायोपेष्टिसाइडको प्रयोग गरी लामखुट्टेका लार्भाहरु नष्ट गर्ने, वडास्तरमा रहेका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, निजी तथा सरकारी स्वास्थ्य संस्थाहरुमा किटजन्य रोगहरुको डाटा भेरिफिकेशन गर्ने लगायतका कार्यक्रम सञ्चालन भइहरेका छन् ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का लगायतले डेंगी रोग नियन्त्रणका लागि समुदायस्तरमा सचेतना फैलाउन आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x