१ श्रावण २०८३, शुक्रबार

चीनको हेपाहा प्रवृत्तिले स्थानीय त्रासमा , मुख्यमन्त्रीले गरे नाका भ्रमण

एसीपी संवाददाता

१७ कार्तिक २०८१, शनिबार २१:०६ मा प्रकाशित

हुम्लाको वास्तविकता बुझ्ने र आगामी नीति तथा कार्यक्रम र बजेटमा हुम्लाका लागि कस्ता योजना आवश्यक छन् र त्यहाँका नागरिकका आवश्यकतालाई कसरी समेट्न सकिन्छ भन्ने विषयलाई बुझ्नका लागि मुख्यमन्त्री कँडेल हुम्ला पुगेका हुन्।

त्यहाँ उनले ठाउँ–ठाउँमा पुगेर नागरिकका कुरा सुन्ने, सरकारी कार्यालयहरूसँग अन्तरक्रिया गर्ने काम गरेका थिए । कँडेलले पहिलो दिन सिमिकोटमा प्रदेश र स्थानीय तहको शासन व्यवस्था, समन्वय तथा अधिकार सार्वजनिक सेवा प्रवाह सम्बन्धी छलफल र अन्तरक्रिया गरेका थिए । त्यहाँ उनले जनताको हितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने कुरा राखे ।
सिमिकोटमा भएको उक्त कार्यक्रम सकेपछि कँडेल १३ गते लिमी–लाप्चा क्षेत्रको नेपाल–चीन सिमाना र कार्तिक १४ गते हिल्सा क्षेत्रको नेपाल–चीन सिमानाको भ्रमण गरे । कँडेलले हिल्सामा रहेका सरकारी कार्यालय नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार कार्यालय, कन्सुलर कार्यालयसँग छलफल गरेका थिए ।
साथै बन्दै गरेको नेपाल–चीन मितेरी पुलको कारण स्वास्थ्य चौकी भवन सेवा प्रारम्भ नहुँदै भत्किने भएपछि सो पुलको नाप नक्सा सङ्घीय सरकारबाट माग गरी आफ्नो कार्यालयमा राख्न र वास्तविकता बुझ्न कँडेलले नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामालाई निर्देशन दिए । त्यस्तै चाइनाको लोलोनजंग र लाप्चा नेपाल १२ नम्बरको पिलर क्षेत्रको अवलोकन गरेका थिए, कँडेलले ।

सिमिकोटमा पत्रकारले सीमा मिचिएको कुरा उठाएका थिए । त्यसपछि मुख्यमन्त्री सीमा क्षेत्र पुगेका थिए । सरकारी रिपोर्ट अनुसार सीमा मिचिएको तथ्य हालसम्म सार्वजनिक भएको छैन। यद्यपि चीन होस् वा भारत कुनै पनि देशले नेपालको एक इन्च पनि भूमि मिच्न नपाइने कुरा सीमावासीसँग कँडेलले राखेका थिए ।

स्थानीयसँग उनले भने, ‘तपाईँहरूसँग त्यस्ता तथ्य छन् भने आन्तरिक रूपमा छलफल गरी सङ्घीय सरकारलाई जानकारी गराउनु पर्दछ । सिमाना जस्तो संवेदनशील सवालमा सार्वजनिक खपतको लागि यति महत्त्वपूर्ण कुरा सजिलै नउठाई तथ्य र प्रमाणका आधारमा उठाउनुस् ।’

हिल्साबासीले आफूलाई चीन पक्षबाट हेला होचो हुने गरेको गुनासो सुनाएको कँडेलले बताए । ‘हामी उनीहरूको प्रेसर सहेर पनि बस्नु परेको छ’ भन्दै स्थानीयले कँडेलसामु पीडा सुनाएका थिए । अहिले त्यहाँका स्थानीय नेपाल भन्दा पनि चीनसँग निर्भर छन् । नेपाल तर्फको बाटो राम्रो छैन। हिल्साको बाटो विश्व खाद्य कामको लागि खाद्यान्न कार्यक्रम मार्फत सुरु भएको थियो। र, चीनबाट चामल ल्याएर बाँडिन्थ्यो।

पछि प्रदेश, सङ्घीय सरकारको लगानीमा काम भएपछि हिल्सा–सिमिकोट सडकमा सहज गाडी चल्ने भएको छ। पछिल्लो पटक चीन सरकारले उक्त बाटो बनाउने सहमति दुवै पक्षबिच भएको छ। कँडेलले हुम्ला जिल्लाका विभिन्न प्राकृतिक र पर्यटकीय क्षेत्रहरू, लाप्चाबाट कैलाश मानसरोवर दर्शन, सांस्कृतिक र धार्मिक स्थल, गुम्बा मठ–मन्दिर, तातोपानी क्षेत्र, सिमिकोटमा रहेको निर्माणाधीन कबर्ड हल र रङ्गशाला उन्मुख खेलमैदान र नाम्खा गाउँपालिका कार्यालयको अवलोकन तथा अनुगमन गरे ।

कँडेल च्या छहरा, सेलिमा ताल, न्याली लेक, निङ खोला र दह पुगे । ‘मोटर बाटो बनेपछि टाक्चीको बस्ती सबै सरेर तुम्लिङ गएको रहेछ,’ कँडेलले भने, ‘टाक्ची अहिले खण्डहर छ ।’ त्यसपछि कँडेल तुम्लिङको सारङ्गे होटलमा एक रात बास बसे । त्यहाँको वस्तुस्थिति बुझेपछि लिमी भ्यालीको अवस्था बुझे । उक्त भ्यालीभित्र हाल्जी, जाङ र तिल गरी तीन वटा गाउँ रहेछन्। ‘यहाँका अधिकांश नागरिकहरू चिसोमा गाउँ छोडेर काठमाडौँ लगायतका सहरहरूमा रहेछन्,’ कँडेलले भने, ‘पुईलाग्न र च्याक्पालुङ्मा क्षेत्रमा वर्षायाममा बस्ती बस्ने र हिउँदमा तल झर्दो रहेछ।’

त्यसपछि मुचु नजिकै तुम्कोटको ह्यङ्सी खोला र कर्णाली मिसिएको ठाउँ मुचु–तुम्कोट पुगेका कँडेललाई तुम्कोट गुम्बाकी आनी छग्याल लामा र वडा नम्बर ५ का वडाध्यक्ष पाल्तुङ लामाले स्वागत गरे । कँडेलले त्यहाँ नागरिकका गुनासा सुन्ने र त्यहाँको अवस्थाबारे जानकारी लिए ।
सिमाना क्षेत्रको पुरानो अन्तिम गाउँ यारी र चीनको सेर गाउँ छन् । यारी गाउँका नागरिकहरू अहिले हिल्सा नाकामा पनि बसोबास गर्ने गरेका छन्। याल्वाङमा एङ्कर गुम्बा छ। कँडेलले उक्त गुम्बाको अवलोकन गरे । १८ औं शताब्दीमा तिब्बतमा रहेको यो गुम्बालाई एकजना बौद्ध धर्म गुरुले सन १९८५ मा उक्त ठाउँमा स्थापना गरेको कुरा स्थानीयले जानकारी गराए । यद्यपि कँडेलले त्यहाँका गुरुसँग भेट गर्न पाएनन् । धर्मगुरु ध्यानमा लागि जंगल, नदी तट कतै ओढारमा रहेको जानकारी स्थानीयले गराएका थिए ।

एक अर्ब हाराहारी लगानी भएको उक्त गुम्बा र नजिकै ५२ करोडमा बनेको र १ महिना अघि मात्र निर्माण सम्पन्न भएर उद्घाटन भएको एङ्कर आनी गुम्बा पनि छ। एङ्कर गुम्बाले करिब ५०० विद्यार्थीलाई निःशुल्क आवासीय सुविधासहित अध्यापन गराइरहेको छ।

सरकारबाट अनुमति लिए पनि कुनै दरबन्दी नरहेको पाइएको कँडेलले बताए । गुम्बा र विद्यालयका प्रिन्सिपल पेमा लामाले मुख्यमन्त्रीलाई सम्मान र चिया खाजा सहित स्वागत गरेका थिए ।

यस्तै कँडेलले सिमिकोटमा सन २०११ मा स्थापना भएको अपाङ्गता भएका बालबालिका स्रोत केन्द्रको पनि अनुगमन गरेका थिए । केन्द्रमा अहिले ५० जना विद्यार्थीहरू संरक्षणमा छन्। केन्द्रले मुख्यमन्त्री कँडेललाई सम्मान र केही माग पत्र पेस ग¥यो ।

मुख्यमन्त्री कँडेल समक्ष हुम्लावासीले जहाजको टिकटमा हुने लाइनबाट मुक्त हुनुपर्ने कुरा राखेका थिए । जनताको भनाइ थियो, ‘हामी नुन र चावल (चामल) को लाइनबाट मुक्त भएका छौँ । अब हाम्रो लाइन जहाज टिकटमा हुन्छ। त्यसबाट मुक्ति चाहन्छौँ ।’

साथै राष्ट्रिय राजमार्गलाई सिमिकोट जोड्ने र सिमिकोटबाट चीनतिरका दुई वटा सडक हिल्सा सडक र लिमी–लाप्चा सडकको विकास गरिदिन मुख्यमन्त्रीलाई स्थानीयले आग्रह गरे । हुम्लाबासीका लागि यी दुई सडक लाइफ लाइन हुन् । तातोपानीका काडोल तामाङले भनिन्, ‘हुम्लामा धेरै विकास गर्नु है सर !’ उनले उक्त ठाउँमा खाजा पसल सञ्चालन गरेर बसेकी छन् ।

मुख्यमन्त्री कँडेलले जवाफमा प्रदेश सरकारबाट गर्न सकिने काम गरिने र केन्द्रबाट हुने कामका लागि पहल गरिने प्रतिबद्धता जनाएका थिए ।सिद्धार्थअनलाइन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x