६ मंसिर २०८१, बिहीबार

बंगलादेशले भारतलाई डेढ खर्ब बिजुली बिल तिर्न बाँकी

एसीपी संवाददाता

३० कार्तिक २०८१, शुक्रबार १९:४४ मा प्रकाशित

बंगलादेशमा बिजुली निर्यात अवसर नेपालको ऊर्जा क्षेत्रका लागि निकै महत्त्वपूर्ण उपलब्धि भए पनि बंगलादेशको आर्थिक अवस्थाका कारण नेपालले बिजुलीको बिल भुक्तानी नपाउने हो कि भन्ने शंका भने गर्न थालिएको छ ।

३० कात्तिक, काठमाडौं । बंगलादेशले भारतबाट बिजुली आयात गरेबापत १ अर्ब अमेरिकी डलरभन्दा बढी (करिब १ खर्ब ३५ अर्ब रुपैयाँ) बक्यौता तिर्न बाँकी छ ।

बंगलादेशले अमेरिकी डलर अभाव कारण देखाउँदै भारतीय कम्पनीहरूलाई बिजुली बिल बक्यौता भुक्तानी गर्न नसकेको रोयटर्सले जनाएको छ ।

बंगलादेशले भारतीय कम्पनीहरूलाई तिर्नुपर्ने कुल बक्यौतामध्ये ८० करोड डलर निजी कम्पनी अडानी पावरको मात्रै रहेको छ । बंगलादेशले बक्यौता भुक्तानी नगरेपछि अडानीले बंगलादेशलाई ६० प्रतिशत विद्युत् कटौती गरेको द इकोनोमिक टाइम्सले लेखेको छ ।

झारखन्डको गोड्डा प्लान्टबाट अडानी पावरले बंगलादेशलाई १ हजार ६ सय मेगावाट विद्युत् निर्यात गर्दै आएको थियो । त्यसलाई पहिले नै घटाएर ७ सयदेखि ७ सय ५० मेगावाटमा झारिएको थियो ।

यसमा पनि बिहीबारदेखि ५ सय २० मेगावाट मात्रै निर्यात गर्न थालेको बंगलादेश पावर डेभपलमेन्ट बोर्ड स्रोत उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेको छ ।

यसबाहेक पावर ट्रेड कर्पोरेसन इन्डिया र एसईआईएल इनर्जी इन्डियालाई बंगलादेशले क्रमशः ८ करोड र १९ करोड अमेरिकी डलर बराबर बिजुली बिल तिर्न बाँकी रहेको पनि रोयटर्सले जनाएको छ ।

नेपालले पनि शुक्रबारदेखि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात थालेको छ । नेपाल–भारत–बंगलादेशबीच त्रिदेशीय सम्झौता अनुसार नोभेम्बर १५ (आज) सम्म मात्रै यो याममा विद्युत् निर्यात हुनेछ ।

नेपालको ऊर्जा क्षेत्रमा यो निकै महत्त्वपूर्ण उपलब्धि भए पनि बंगलादेशको आर्थिक अवस्थाका कारण नेपालले बिजुलीको बिल भुक्तानी नपाउने हो कि भन्ने शंका भने गर्न थालिएको छ ।

सन् २०२२ देखि जारी रुस–युक्रेन युद्धका कारण इन्धन मूल्य बढेपछि बंगलादेशले विदेश तथा विदेशी कम्पनीलाई भुक्तानी गर्न संघर्ष गरिरहेको छ । हालै त्यहाँ राजनीतिक उथलपुथल भएपछि त्यो समस्या अझै चुलिएको छ ।

अहिले बंगलादेशले ५ अर्ब अमेरिकी डलर वित्तीय सहयोगका लागि अन्तर्राष्ट्रिय मुद्राकोष लगायतलाई अनुरोध गरिरहेको छ । यसअघि बंगलादेशको अर्थतन्त्रको उद्धारका लागि आईएमएफले ४.७ अर्ब अमेरिकी डलर दिएको थियो ।

बंगलादेशले भारतको आफ्नो कुल ऊर्जा खपतको २० प्रतिशत भारतबाट आयात गर्छ । उसले करिब एक वर्षदेखि बिजुली बिल तिर्न नसकेको रोयटर्सले लेखेको छ । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x