१ श्रावण २०८३, शुक्रबार

बालेन शाहको निर्देशनमा १ लाख जरिवाना गरिएको पत्र एमालेले बुझ्न अस्वीकार

एसीपी संवाददाता

९ मंसिर २०८१, आईतवार १४:३९ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा १ लाख जरिवाना गरिएको पत्र नेकपा एमालेले बुझ्न अस्वीकार गरेको छ ।

पार्टी कार्यालय च्यासलमा आइतबार महानगरपालिकाको टोली पत्र लिएर गएपनि एमालेले बुझ्न अस्वीकार गरेको हो । यससँगै महानगरपालिकाको टोली त्यसै फर्किएको छ ।

महानगरपालिका प्रहरी बलका इन्स्पेक्टर किशोर भट्टराई पार्टी कार्यालयमा पत्र दर्ता हुन नसकेको बताए ।‘उहाँहरूले पत्र हेर्नुभयो र पढ्नुपनि भयो । तर, दर्ता गर्न मान्नु भएन । त्यसपछि हामी पत्र बोकेर त्यसै कार्यालयमा फर्किएका छौँ’, उनले भने।एमाले पार्टी कार्यालयका प्रतिनिधिले दरबारमार्गमा भएको कार्यक्रमको आयोजना काठमाडौँ जिल्ला कमिटीका भएकाले जरिवानाको पत्र पनि त्यहीँ बुझाउन भन्दै दर्ता गर्न अस्वीकार गरेका थिए ।

महानगरले मंसिर ७ गते दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी फोहर गरेको भन्दै एमालेलाई १ लाख जरिवाना गर्ने निर्णय गरेको थियो ।

फोहोर गरेपनि त्यसको व्यवस्थापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ । सोहीअनुसार उक्त पत्र बुझाउन महानगरपालिकाका प्रतिनिधिहरू आइतबार दिउँसो पार्टी कार्यालय पुगेका हुन् । एमालेका नेताहरुले उक्त पत्रको आलोचना गर्दै बालेनले स्टन्ट गरेको संज्ञा दिँदै आएका छन् ।

महानगरले अब काठमाडौँ जिल्ला कमिटीमा पत्र बुझाउने कि के गर्ने भन्नेबारे निर्णय गरिसकेको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x