१ श्रावण २०८३, शुक्रबार

हजयात्रीहरूकाे सहजताका लागि सचेतना कार्यक्रम

एसीपी संवाददाता

१२ मंसिर २०८१, बुधबार ०९:२० मा प्रकाशित

कृष्णनगर, कपिलवस्तु, । नेपाल हज समितिको आयोजनामा जिल्लाको कृष्णनगरमा मङ्गलबार हज सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा हजयात्रीहरूलाई हज यात्रा गर्दा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू र समस्याहरू समाधान गर्नको उपायबारे जानकारी गराइएको थियो। समितिका सदस्य मिर्जा रासिद बेगका अनुसार कतिपय हजयात्रीहरूले जानकारीको अभावका कारण विभिन्न समस्याहरू झेल्नुपरेकोले यस्ता सचेतना कार्यक्रमको आयोजना गरिएको हाे ।

सदस्य बेगले विगतको तुलनामा हाल हजयात्रीहरूका लागि सहज वातावरण सिर्जना गरिएको जानकारी दिँदै, हज यात्राका क्रममा महत्वपूर्ण नियमहरूको पालना गर्नुपर्नेमा जोड दिए। नेपाल हज समितिका अध्यक्ष इश्रामुल्ला मियाले हजयात्रीहरूको सुविधाका लागि सुधारिएको सेवाबारे चर्चा गर्दै विगतमा उठेका आलोचनाहरूलाई सम्बोधन गर्दै समितिले अहिले पारदर्शी रूपमा काम गरिरहेको बताए।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य मङ्गल प्रसाद गुप्ताले समितिले व्यवस्थित रूपमा हजयात्रीहरूलाई मक्का-मदिना पुर्‍याउन गरेको व्यवस्थाको प्रशंसा गर्दै, यात्रा गर्दा आउने समस्याहरूलाई गम्भीर रूपमा समाधान गर्नुपर्नेमा जोड दिए। अर्का प्रतिनिधिसभा सदस्य सराज अहमद फारुकीले हजयात्रीहरूलाई नियम र कानुनको पालना गर्न आग्रह गरे।

मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेगले हज समिति र मुस्लिम आयोगबीच सहकार्य आवश्यक रहेको बताए। कार्यक्रममा कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, युवा नेता रहिस शाह, अक्रम पठान र मक्सुद नेपालीलगायत मौलानाहरुले पनि आआफ्ना धारणा राखेका थिए।

यस वर्ष साउदी सरकारले नेपाललाई हज यात्राका लागि १,२०० कोटा उपलब्ध गराएको छ। नेपाल हज समितिका अनुसार अहिले हजको अवधि ३२ दिनको हुने बताइएको छ। छोटो अवधि र सुधारिएको व्यवस्थाका कारण हजयात्रीहरूको खर्चमा कमी आउने अपेक्षा गरिएको वक्ताहरुकाे भनाई थियाे ।
हजयात्रीहरूलाई सजग बनाउनु र उनीहरूको यात्रालाई सहज बनाउन समिति र सरोकारवालाहरूबीच सहकार्यको वातावरण सिर्जना आवश्यक रहेको वक्ताहरुले जाेड दिएका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x