१ श्रावण २०८३, शुक्रबार

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवर

एसीपी संवाददाता

१३ मंसिर २०८१, बिहीबार ०७:०७ मा प्रकाशित

नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर ११ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ३ जना प्राविधिक प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्राविधक प्रहरी नायव महानिरीक्षकहरूमा डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. संजिता दाहाल (घिमिरे) रहनुभएको छ ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको योगदान, जिम्मेवारी निर्वाहमा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलता र इमानदारीताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै पदिय दायित्व र मर्यादाको घेरा बढ्दै जाने तथ्यलाई मनन गरी आगामी दिनमा समेत उत्कृष्ट जिम्मेवारी निर्वाह हुने गरी सक्रिय भूमिकाको अपेक्षा रहेको उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीमा विभिन्न प्राविधिक समूहले पुर्‍याएको सेवाको प्रशंसा गर्दै सपोर्ट समूहले संगठनलाई गतिशीलता प्रदान गर्नुका साथै प्रहरीको काम कारवाही तथा सेवा प्रवाहलाई समेत प्रभावकारी बनाएको उल्लेख गर्नुभयो । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई सांगठनिक हित र विकासमा केन्द्रित रहेर अझ थप हौसला र लगनशीलताका साथ सेवा गर्नका निम्ति प्रहरी अधिकृतहरू थप उत्प्रेरित हुने विश्‍वास उहाँले व्यक्त गर्नुभयो ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. दामोदर पौडेलले प्राप्त जिम्मेवारीलाई वहन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x