२२ आश्विन २०८३, बिहीबार

(रअ) प्रमुखको नेपाल भ्रमणले थुप्रै परिणाम ल्याइसक्यो-ज्ञवालि

एसीपी संवाददाता

२० मंसिर २०७७, शनिबार ०८:०१ मा प्रकाशित

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय गुप्तचर संस्था (रअ) प्रमुखको भ्रमणले थुप्रै परिणाम ल्याइसकेको भन्दै पुरानै कुरामा अड्किएर बस्नुको अर्थ नरहेको बताएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिको शुक्रबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले रअ प्रमुख सामन्त गोयलको भ्रमण अपारदर्शी नभएको पनि बताए।

सत्तासीन नेकपा नेता भीम रावलले रअ प्रमुख गोयलको भ्रमण र प्रधानमन्त्री केपी ओलीसँगको भेटवार्ताबारे समितिमा प्रश्न उठाएका थिए। जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले गोयलले रअ प्रमुखका रूपमा नभई भारतका प्रधानमन्त्रीको दूतका रूपमा नेपाल भ्रमण गरेको पनि बताए। ‘नाकाबन्दीका बेला तत्कालीन सेना प्रमुख राजेन्द्र क्षेत्रीले भारतको भ्रमण गरेको होइन र ? परराष्ट्रमन्त्री ज्ञवालीले प्रतिप्रश्न गर्दै भने, ‘दुई देशका सरकारबीच औपचारिक संवाद नभइरहेका बेला कूटनीतिमा व्यापारिक, धार्मिक मान्छे प्रयोग हुने गरेको छैन र ?’

रअ प्रमुख गोयलको भ्रमणपछि भारतका तर्फबाट उच्चस्तरीय भ्रमण भइरहेकाले थुप्रै परिणाम आइसकेको उल्लेख गर्दै ज्ञवालीले पुरानै कुरामा अड्केर बस्नुको अर्थ नरहेको बताए।
परराष्ट्रमन्त्री ज्ञवालीले छिमेकी चीनले नेपाली भूमि मिच्यो भन्नु अतिरञ्जित प्रचार मात्र भएको पनि बताए। विपक्षी कांग्रेसका प्रकाशमान सिंहले चीनसँगको सीमा विवाद संवेदनशील भएको भन्दै प्रश्न गरेपछि परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँग सीमा विवाद नरहेको बताए। ०७२ सालमा कृषि मन्त्रालयमा हुँदै नभएको नापी विभागको हवाला दिएर चीनले नेपाली भूमि मिच्यो भनेर अतिरञ्जित प्रचार गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले दाबी गरे।

समितिले भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नेपालको हकभोग कायम गर्न सरकारलाई निर्देशन दिएको छ। नेपाल भारतबीच गठित प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन भारत सरकारलाई ग्रहण गर्ने वातावरण मिलाउन पहल गर्न पनि समितिले निर्देशन दिएको छ। यस्तै, सीमा क्षेत्रमा भारतले बनाएका भौतिक संरचनाले नेपालमा गर्ने डुबान अन्त्यका लागि पहल गर्न समितिले सरकारलाई पुनः निर्देशन दिएको छ। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x