न्यायाधीशसँग रविको अनुरोध– मलाई छाडिदिनु भयो भने गर्व लाग्ने काम गर्छु
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई न्यायालयको मात्रै विश्वास भएको बताएका छन् । बिहीबार कास्की जिल्ला अदालतमा म्याद थपको बहसका क्रममा उनले सहकारी संस्थाको बचत हिनामिनाको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले आफूविरुद्ध राजनीतिक प्रतिशोध साधेको बताए । थापाले राजनीतिक प्रतिशोध साधेको जिकिर गर्दै भनेका छन्, ‘अब न्यायालयको मात्रै विश्वास छ ।’
उनले आफूलाई छोडिदिन न्यायाधीश पौडेलसँग अनुरोध गरे । ‘तपाईंले मलाई छोडिदिनुभयो भने मैले राम्रो काम गरेर देखाउँछु र तपाईंले भविष्यमा मलाई हेरेर गर्व गर्न पाउनुहुनेछ,’ रविले अदालतमा भनेको भनाइ उद्धृत गर्दै अधिवक्ता युवराज पराजुलीले अनलाइनखबरसँग भने । एमाले सांसद समेत रहेका थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनलाई लामिछानेले ‘सुनियोजित कथा’ को रुपमा अर्थ लगाए । थापाले सुनियोजित रुपमा लेखिएको कथाको छायांकन अहिले भइरहेको पनि दाबी लामिछानेको छ ।



