१८ भाद्र २०८३, बिहीबार

पार्टी र जनसमुदायमा जनसम्पर्क बनाउन राप्रपाको अभियान

एसीपी संवाददाता

११ पुष २०८१, बिहीबार १२:५८ मा प्रकाशित

राप्रपाको हालै सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरेको सामाजिक सञ्जाल संचालन तथा व्यवस्थापन कार्यविधि-२०८१ : सामाजिक सञ्जाल मार्फत पार्टी र आम जनसमुदायबीच बलियो सम्बन्ध स्थापित गर्ने सुनियतका साथ यो कार्यविधि ल्याइएको हो।

सामाजिक सञ्जाल संचालन तथा व्यवस्थापन कार्यविधि, २०८१

प्रस्तावनाः
राष्ट्रिय प्रजातन्त्र पार्टी तथा यसका सदस्यहरुले पार्टीको निर्णय, विचार, मूल्य, मान्यता र आदर्शलाई सामाजिक सन्जालमार्फत सार्वजनिक गर्ने, गराउने वा पार्टी सदस्यबाट सार्वजनिक हुने विचार, बहसलाई व्यवस्थित गर्न वाञ्छनीय देखिएकोले केन्द्रिय कार्य सम्पादन समितिले यो कार्यविधि बनाई जारी गरेको छ ।

परिच्छेद—१
प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस नियमको नाम “सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन” कार्यविधि, २०८१ रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
(३) यो नियमावली पार्टीका सबै सदस्यहरुमा लागु हुनेछ ।

२. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा:-,

(क) “सामाजिक सञ्जाल” भन्नाले अनलाइन प्लेटफर्ममा एक अर्काबीच व्यक्तिगत वा संस्थागत रुपमा अन्तरक्रिया गरिने फेसबूक, ह्वाट्सएप, एक्स, इन्स्टाग्राम, थ्रेड, भाइबर, युट्युव, टिकटक, गुगलप्लस, क्लब हाउस, इमो, विच्याट, स्न्यापच्याट जस्ता र सोही प्रकृतिका अन्य प्लेटफर्मलाई सम्झनुपर्दछ ।

(ख) “सदस्य” भन्नाले पार्टीको साधारण तथा सक्रिय सदस्य सम्झनु पर्छ । सो शब्दले पदाधिकारीसमेतलाई जनाउनेछ ।

परिच्छेद— २
उद्देश्य, सामाजिक सञ्जाल व्यवस्थापन र सन्चालन

३. सामाजिक सञ्जालको उद्देश्य:
(१) पार्टीको उद्देश्य, विचार, सिद्दान्त र कार्यक्रमलाई जनतासमक्ष पुऱ्याउने,
(२) पार्टीको सदस्यबाट पार्टीको विषयमा प्रसार हुने सामाग्रीहरुमा एकरुपता कायम गर्न मद्दत गर्ने,
(३) पार्टीको सामाजिक सञ्जाल प्रतिरणनीतिको माध्यमबाट पार्टीलाई संगठित र व्यवस्थित गर्ने,
(४) सामाजिक सञ्जालको प्रयोगबाट पार्टी र जनताबीच सन्तुलित, स्वस्थ र बलियो सम्बन्ध स्थापित गर्दै पार्टीलाई बलियो र विश्वनीय बनाउने ।

४. सामाजिक सञ्जालको व्यवस्थापन: सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थापन गर्न प्रचार विभागको मातहतमा रहने गरी एक सामाजिक सञ्जाल इकाई रहनेछ । इकाईमा एक संयोजक र बढीमा चार सदस्य रहनेछन् ।

५. सामाजिक सञ्जाल इकाइको काम, कर्तव्य र अधिकार: पार्टीको केन्द्रिय अध्यक्षको निर्देशन र प्रचार विभागको समन्वयमा रहने गरी सामाजिक सञ्जाल इकाइको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) पार्टीको सामाजिक सञ्जाल रणनीति तर्जुमा, कार्यान्वयन गर्ने,
(ख) सामाजिक सञ्जालबाट प्रसार हुने विषय वस्तुको सामग्री तयार गर्ने, सम्प्रेषण गर्ने, गराउने
(ग) पार्टीका सदस्यले गर्न हुने र नहुने विषयको आचार संहिता तयार गर्ने,
(घ) सामाजिक सञ्जालमार्फत पार्टीको ब्रान्ड स्थापित गर्ने,
(ड) अध्यक्ष र प्रमुख पदाधिकारीहरुको विचार, मन्तव्य, भाषणको मूल अन्तर्यमा फरक नपर्ने गरी संदेश सम्प्रेषण गर्ने,
(च) अन्य पार्टीको सामाजिक सञ्जाल रणनीतिको अध्ययन गर्ने र को प्रति रणनीति तयार गर्ने,
(छ) चुनाव केन्द्रित सामाजिक सञ्जालको सामाग्री तयार गर्ने, प्रेषण गर्ने गराउने
(ज) पार्टी र सदस्यलाई अन्य पक्षबाट भएको प्रतिक्रियात्मक कार्यको प्रतिरक्षा गर्ने कार्य गर्ने, गराउने
(झ) पार्टीको काम कारवाहीको विद्युतीय(डिजिटल) अभिलेख तयार गर्ने,
(अ) सदस्यले पार्टी हित विपरित गरेका सञ्जालको सामाग्रीको स्क्रिन सट वा कपी राख्ने,
(ट) अध्यक्ष तथा प्रचार विभाग प्रमुखबाट तोकिएका अन्य कार्य गर्ने गराउने ।

६. संयोजकको नियुक्ति: अध्यक्षले प्रचार विभागको सिफारिशमा इकाइको संयोजकको नियुक्ति गर्नेछ । साथै संयोजकलाई सहयोग गर्ने सदस्यको नियुक्ति संयोजकको सिफारिशमा अध्यक्षले गर्नेछ।

७. कार्य समुह बनाउने वा स्वयंसेवकको परिचालन: संयोजकले सामाजिक सञ्जाल तथा पार्टीको वेभसाइटमार्फत प्रकाशन एवं प्रशारण गरिने सामग्रीहरुको निर्माण गर्न विभिन्न कार्य समुह बनाउन वा स्वयम्ंसेवकको परिचालन गर्न सक्नेछ ।
८. भातृ संगठनले पालना गर्नु पर्ने: पार्टीको भातृ सङ्गठन तथा पेशागत सङ्गठनका सदस्यले यस कार्यविधिको पालना गर्नु पर्नेछ ।

परिच्छेद ३
सामाजिक सञ्जाल आचार संहिता, सदस्यको संजालको प्रयोग

९. सदस्यले पालना गर्नु पर्ने विषय: सदस्यले सामाजिक सञ्जालको प्रयोग गर्दा मुख्य रुपमा देहायको विषयको परिपालना गर्नु पर्नेछ:
(क) सदस्यले पार्टीको प्लेटफर्ममा पार्टी हित हुने गरी कुनै प्रतिक्रिया, सामग्री प्रसारण वा प्रेषण गर्न सक्नेछ ।
(ख) सदस्यले पार्टीको संवेदनशील सूचना, निर्णय वा सामग्री अध्यक्षको अनुमती लिएर मात्र प्रसारण, प्रेषण वा सार्वजनिक गर्न सक्नेछ ।
(ग) सदस्यले अर्को कुनै सदस्य वा समाजको जुनसुकै व्यक्तिका बारेमा धारणा राख्दा सम्मानजनक शब्द, आचरण र व्यवहार प्रदर्शन गर्नु पर्दछ ।
(घ) सदस्यले पार्टी र नेतृत्वको काम कारवाहीका बारेमा सकारात्मक बहस गर्ने गरी धारणा राख्न सक्नेछ ।
(ड) सदस्यले आफ्नो विचार राख्दा पार्टीको आधिकारिक निर्णय भएको विषयमा सोही बमोजिम राख्नु पर्नेछ । प्रष्ट निर्णय नभएको विषयमा सकभर धारणा प्रकट नगर्ने तर गर्नुपर्ने अवस्थामा पार्टीको बृहत्तर हितलाई ध्यान दिई “मेरो विचारमा” भन्ने उल्लेख गर्नुपर्नेछ ।

१०. सदस्यले गर्न नहुने विषयहरु:- सदस्यले देहायको काम गर्न गराउन वा त्यस्तो कार्य गर्न दुरुत्साहन गर्नु हुँदैन:-
(क) सदस्यले नकारात्मक शब्द, भाव, प्रतिक्रियात्मक फोटो सम्प्रेषण(पोस्ट) गर्नु हुँदैन ।
(ख) सदस्यले कुनै अर्को सदस्य वा व्यक्तिलाई होच्याउने, बद्नाम गर्ने, चरित्रमा आँच पुर्याउने वा व्यक्तिगत प्रतिष्ठामा हानी हुने गरी सार्वजनिक रुपमा आलोचना गर्न वा फोटो, भिडियो शेयर गर्न हुँदैन ।
(ग) सदस्यले प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समुहको पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्वीट गर्न हुदैन ।
(घ) सदस्यले पार्टीको सदस्य वा अन्य कुनै व्यक्ति, समाज, समुदाय, लिङ्ग, वर्ग, धर्म, समुदाय प्रति विद्वेष फैलाउने गरी सामग्री सम्प्रेषण गर्न हुँदैन । तर स्वस्थ आलोचना गर्न बाधा पुगेको मानिनेछैन ।
(ड) माथि (क), (ख) र (ग) मा जुनसुकै कुरा लेखिएको भएतापनि पार्टीको नीतिमा सकारात्मक बहस चलाउन उपरोक्त व्यवस्थाले बाधा पुगेको मानिनेछैन ।

(११) सदस्यको सञ्जाल प्रयोग: दफा (३) बमोजिम गठन भएको समितिलाई पार्टीको नाम जोडिएका सामाजिक सञ्जाल, पार्टीको विभिन्न तहको नेतृत्वमा रहेका नेता कार्यकर्ताको पार्टी सम्बन्धी निजी सामाजिक सञ्जाल सामग्रीहरुको समेत पार्टी हितमा परिचालनका लागि नियमन र समन्वय गरिनेछ।

१२. सदस्यले सामाजिक सञ्जालमार्फत विचार सम्प्रेषण गर्दा पार्टीको परिचय दिन सक्नेछ तर पार्टीको पद उल्लेख गरेको अवस्थामा आफ्नो परिचय पूर्ण रुपले उल्लेख गर्नु पर्नेछ । पार्टीको पद उपयोग गर्दा छद्म नाम प्रयोग गर्न हुँदैन ।

१३. पार्टीका सदस्यले देहायका काम गर्न सक्नेछन:
(क) पार्टीको हितमा ब्लग, वेविनार, इन्फोग्राफिक सम्प्रेषण गर्ने,
(ख) तेस्रो पक्षबाट प्रेषित पार्टीलाई हित हुने सामग्रीको पुन: प्रेषण,
(ग) पार्टीको ब्रान्ड स्थापित गर्न सहयोग पुग्ने सामग्रीको सम्प्रेषण,
(घ) अध्यक्षले तोकीदिएका अन्य कार्यहरु ।

१४. प्रेषित सामग्री हटाउने: सदस्यले असल मनसायसाथ सम्प्रेषण गरेको सामग्री भए पनि त्यसले पार्टीको वृहत् हितलाई असर पुग्ने देखिएमा तत्काल त्यस्तो सामग्री हटाउनु पर्नेछ र त्यसको जानकारी इकाईलाई तत्काल दिनु पर्नेछ ।

१५. इकाइले सामाजिक सञ्जालको उपयोग र आचारसंहिता सम्बन्धमा थप व्यवस्था गर्न
सक्नेछ । इकाइले त्यस्तो व्यवस्था गरेको अवस्थामा सो को परिपालना सबै पार्टी सदस्यले गर्नुपर्नेछ। आचारसंहिता पार्टी संरचना र पार्टी सदस्यहरुले थाहा पाउनेगरी सर्कुलर गरिनेछ।

परिच्छेद ४

अनुशासन र कारवाही

१६. सदस्यले यस कार्यविधि बमोजिम विपरित हुने गरी सामाजिक सञ्जालको उपयोग गरेमा तत्काल सो को जानकारी इकाईलाई गराउनु पर्नेछ । प्राप्त जानकारीको आधारमा इकाइले सम्बन्धित पक्षले गरेको कामको परिणाम र असरको बारेमा मुल्यांकन गर्नेछ ।
१७. इकाइले यस कार्यविधिको विपरित हुने गरी भएका काम कारवाहीको अभिलेख राख्नेछ र सो को विश्लेषण सहितको प्रतिवेदन तयार गर्नेछ ।
१८. दफा १५ वा १६ बमोजिम कुनै सदस्यलाई अनुशासनको कारवाही गर्नु पर्ने देखिएमा सो को आधार, कारण र प्रमाण सहित केन्द्रिय अनुशासन समितिमा लेखी पठाउनेछ ।
१९. इकाईले सामाजिक सञ्जाल सञ्चालन र व्यवस्थापन सम्बन्धि थप मापदण्डहरु निर्माण गर्न सक्नेछ ।

परिच्छेद पाँच
विविध
२०.. प्रचलित कानुन बमोजिम हुने: यस कार्यविधिमा लेखिएको सामाजिक सञ्जाल सम्बन्धी व्यवस्था प्रचलित कानुनसंग बाझिएमा बाझिएको हदसम्म अमान्य हुनेछ ।
२१. कार्यविधिमा संशोधन: यस कार्यविधिमा आवश्यकता अनुसार केन्द्रिय कार्य सम्पादन समितिले संशोधन गर्न सक्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x