१ श्रावण २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्थलगत निरीक्षण

एसीपी संवाददाता

१८ पुष २०८१, बिहीबार १३:३३ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्थलगत निरीक्षण गर्दै सम्बद्ध अधिकारीहरूको बैठक डाकेर जोखिम फैलन नदिन प्रभावकारी सेवा दिन आग्रह गर्नुभएकाे छ ।

अहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एमपक्स फैलन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी दिँदै आइरहेको छ ।

मन्त्री पौडेलले विमानस्थलमा एयरलाइन्स, नागरिक उड्डयन अधिकारी, अध्यागमनका कर्मचारी तथा सुरक्षाकर्मीहरूसहित अधिकारीहरूलाई नागरिकमाझ थप जोखिम फैलन नदिन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयाे । ‘तपाईंहरुलाई कुनै पनि काम कुरामा आवश्यक सहयोग उपलब्ध गराउन हामी तयार छौँ,’ उहाँले भन्नुभयाे, ‘केही समस्या परे भन्नुहोला ।’

हाल साउदी अरेबियाबाट आएका दुई नागरिकमा संक्रमण देखिएकामा एक उपचारपछि घर फर्किसकेका छन् । अर्का एकको सुरक्षित अवस्थामा सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्री पौडेलले नमूना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला, उपचारका लागि सरुवा रोग नियन्त्रण अस्पताल अनि सचेतना फैलाउन इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले मिलेर काम गरिरहेको जानकारी दिनुभयो ।

हामी नागरिकलाई जोखिममा पर्न नदिन आवश्यक सबै सतर्कता अपनाइरहेका छौँ, विमानस्थलका स्वास्थ्य अधिकारीहरूसहित उड्डयन, अध्यागमन, सुरक्षा अधिकारी तथा एयरलाइन्स कर्मचारीलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईँहरूले पनि जिम्मेवारीपूर्वक साथ दिनुहोला ।

मन्त्रालयले विमानस्थलबाट बाहिरिएका शङ्कास्पद बिरामीको सम्पर्क ट्रेसिङका अलावा फर्कनेहरूलाई एमपक्सबारे सचेतना विमानस्थलमा रहेको हेल्थ डेस्कबाट फैलाइरहेको छ । बिरामीको टेकुस्थित सरुवा नियन्त्रण अस्पतालमा उपचार भइरहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

मन्त्री पौडेलले साउदी अरेबियाबाट संक्रमित बिरामी आइरहेकाले नेपाली समुदायमाझ सचेतनाका लागि नेपाली दूतावासमार्फत काम गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि राजेश सम्भाजीराव पाण्डवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एमपक्स नियन्त्रणका लागि अपनाएको सजगता प्रशंसनीय रहेको भन्दै आवश्यक सहयोगका लागि तयार रहेको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x