१ श्रावण २०८३, शुक्रबार

नेपालमा मुस्लिम समुदायको अवस्था दयनीय – समिम मियाँ

एसीपी संवाददाता

२० पुष २०८१, शनिबार १२:४२ मा प्रकाशित

नेपालगन्ज,। मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालमा मुस्लिम समुदायको अवस्था दयनीय भएको उल्लेख गर्दै शिक्षामा बिशेष जोड दिनुपर्ने बताउनु भएको छ ।

मुस्लिम आयोगले प्लान इन्टरनेसनल र बाँके युनेस्को क्लबसंगको सहकार्यमा यहाँ आयोजना गरेको मुस्लिम बालबालिका तथा युवाहरुको उत्थानका लागि इमामहरुको भूमिका बिषयक कार्यशालामा बोल्दै मुस्लिम आयोगका अध्यक्ष अन्सारीले समुदायका अगुवा र मुस्लिम इमामहरुले यसमा बिशेष ध्यान दिएर समुदायलाई सचेत पार्नुका साथै अवसर उपलब्ध गराउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले इमामको काम नमाज पढाउने मात्रै नभई समयानुकुल मुस्लिम समुदायलाई अगाडि बढाउन विभिन्न सचेतनामूलक प्रवचन दिनुपर्ने पनि भएको जनाउँदै शिक्षाका लागि बिशेष पहल गर्न अनुरोध गर्नुभयो ।

मुस्लिम समुदायभित्र शिक्षा, स्वास्थ्य र समाजमा पहुँच बढाउन आवश्यक भएकोमा जोड दिदै मुस्लिम आयोगले सरकारलाई सो बारेमा निरन्तर दवाव दिंदै आएको सो अवसरमा अध्यक्ष अन्सारीले बताउनुभयो ।

कार्यक्रममा लुम्विनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले यस क्षेत्रका मुस्लिम बालबालिका तथा युवाहरूको शैक्षिक अभिवृद्विका लागि ५ करोड बराबरको बजेट भित्राएको जनाउँदै आगामी दिनमा बजेट बढाउँदै जाने बताउनुभयो । सो कार्यक्रममा आयोगका सदस्य मिर्जा अरशद वेग, प्लान इन्टरनेशनल नेपालका नीति तथा पैरवी म्यानेजर इरसाद अन्सारी, राष्ट्रिय किशोरी सञ्जालकी सहसचिव रहमत जहाँ खान, शैक्षिक क्षेत्रका अगुवा नागरिक अगुवा बद्रे आलम खाँ, मुस्लिम अगुवा अतहर हुसैन फारुकी र बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर लगायतले मुस्लिम समुदायका इमामहरुले समुदायलाई सचेत पार्न बिशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
सो कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, मुस्लिम अगुवा मोहम्मद हारुन लगायतको पनि उपस्थिति रहेको थियो ।

साजिद अलि सिद्विकीले मुस्लिम युवा तथा बालबालिकाको शिक्षा र उवेदुर रहमान खाँले मुस्लिम धर्मशास्त्र तथा इमामहरूको भूमिकाका बारेमा सो अवसरमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कर्यपत्र प्रस्तुत गर्दै सिद्दिकीले समुदायका बालबालिकाको शैक्षिक अवस्था र खाँले इस्लाम धर्ममा इमामको भूमिकाका बारेमा बिस्तृत रुपमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा बाँके,बर्दिया,सुर्खेत र कैलालीबाट करिब ६० जना मुस्लिम इमामहरुको सहभागिता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x