३२ असार २०८३, बिहीबार

अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्यायौँ : अर्थमन्त्री पौडेल

एसीपी संवाददाता

१३ माघ २०८१, आईतवार १६:०२ मा प्रकाशित

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धि गर्नका निम्ति अध्यादेश ल्याएको बताउनुभएको छ ।

आइतवार विश्व भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलले अहिलेको सरकार सरकारहरुको सूचीमा अर्को एक थान सरकार थप्नका लागि नबनेको बताउनुभयो । उहाँले सरकार विशेष परिस्थितिमा बनेको उल्लेख गर्दै सरकारले आफ्नो अभिभारा पूरा गर्ने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशहरुलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै यस्ता कदमहरु सरकारले आगामी दिनमा पनि अघि बढाउने बताउनुभयो । उहाँले सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरु अन्तिम नभएको र आगामी दिनमा अझ बढी काम गर्दै जाने बताउनुभयो । निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्नुपर्ने दायित्व सरकारसँग रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘हामीले अहिले चालेका कदमहरु अन्तिम कदम होइनन् । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नका निम्ति, अर्थतन्त्रलाई चलायमान बनाउनका निम्ति, उत्पादन, उत्पादकत्व वृद्धि गर्नका निम्ति, जिडिपी वृद्धि गर्नका निम्ति हामीले चालेको यो अन्तिम कदम होइन ।’

उपप्रधानमन्त्री पौडेलले राजस्व संकलनमा सहयोगी भुमिका निर्वाह गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । राजस्व चुहावट, अनियमितताका प्रवृत्तिहरुलाई निरुत्साहीत गर्न, वैधानिक प्रणालीभित्र आफ्ना कारोबार सञ्चालन गर्न निजी क्षेत्रका छाता संगठनले आफ्ना सदस्यहरुलाई निर्देशित गर्न आग्रह गर्नुभयो । – न्युज एजेन्सी नेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x