“अवैध आप्रवासी फिर्ता गर्न भारत तयार, जयशंकरले दिए अमेरिकी कदमलाई साथ”
वासिङ्टन । अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका भारतीय नागरिकलाई फिर्ता गर्न भारत तयार रहेको भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले स्पष्ट पारेका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग वासिङ्टनमा भएको भेटपछि उनले ट्रम्प प्रशासनको आप्रवासन नीति र कदमलाई भारतले समर्थन गर्ने बताउँदै अवैध आप्रवासनको कडा विरोधमा भारतको अडान दोहोऱ्याएका हुन्।
जयशंकरका अनुसार, अवैध रूपमा बसिरहेका भारतीयहरूको प्रमाणीकरण गरी फिर्ता लिन भारत प्रतिबद्ध छ। उनले भने, “भारतीय नागरिकलाई कानूनी रूपमा अवसर दिलाउने हाम्रो प्राथमिकता हो, तर अवैध आप्रवासनको हामी कडा विरोध गर्दछौं। जहाँ कोही हाम्रा नागरिक छन्, हामी फिर्ता लिन तयार छौं।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि अवैध आप्रवासनविरुद्ध कडा नीति लिएका छन्। यसैक्रममा, उनले लाखौं आप्रवासीलाई देश निकाला गर्ने निर्देशन दिएका छन्। जयशंकरले भारतले हाल १८ हजारभन्दा बढी भारतीय नागरिकलाई फिर्ता गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टामी ब्रुसले बैठकपछि जारी गरेको विज्ञप्तिमा आपसी आर्थिक सम्बन्ध र अनियमित आप्रवासनप्रति ट्रम्प प्रशासनको गम्भीरता औंल्याइएको छ।
भारत अहिले विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको छ। यद्यपि, राम्रो अवसरको खोजीमा हरेक वर्ष लाखौं भारतीय विदेशिने क्रम रोकिएको छैन। विशेषगरी, अमेरिकालाई प्राथमिक गन्तव्य बनाउँदै आएका भारतीयहरूले अध्ययन र रोजगारीका लागि ठूलो संख्यामा अमेरिका बसाइँ सरेका छन्।
सन् २०२२ मा मात्रै अमेरिकामा अध्ययनरत भारतीय विद्यार्थीहरूको संख्या ४ लाख नाघेको थियो। पछिल्लो तथ्यांकअनुसार, २०२० को दशकमा भारतीय मूलका अमेरिकीको जनसङ्ख्या ५० प्रतिशतले बढेर ४८ लाख पुगेको छ।



