३२ असार २०८३, बिहीबार

सामाजिक सञ्जाल विधेयक : पत्रकार महासंघ विपक्षमा उभिँदा सरकारलाई सकस

एसीपी संवाददाता

१८ माघ २०८१, शुक्रबार ११:५७ मा प्रकाशित

गत माघ १३ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाजिक सञ्जाललाई नियमन गर्नका लागि ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ दर्ता गरे । संसदको पाँचौं अधिवेशनबाट नयाँ कानून ल्याउने राष्ट्रियसभाबाट उत्पत्ति गराइएको यो विधेयकको विपक्षीले विरोध गर्नु त स्वाभाविकै थियो । तर, सत्ता पक्षबाटै यो विधेयकको विरोध सुरु भएको छ ।

नेपाल पत्रकार महासंघको अध्यक्षमा सत्ता गठबन्धबाट बरिष्ठ पत्रकार निर्मला शर्मा विजयी बनेकी थिइन् । उनी नेकपा एमालेको कोटाबाट अध्यक्ष बनेकी हुन् । त्यसैगरी महासचिवमा विजयी रामप्रसाद दाहाल नेपाली कांग्रेसको कोटाबाट महासंघको नेतृत्वमा पुगेका हुन् । तर, सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकको विपक्षमा महासंघको नेतृत्वका उभिएको छ, जसले गर्दा एमाले–कांग्रेस नेतृत्वको सरकार अप्ठ्यारोमा परेको छ ।

पत्रकार महासङ्घअध्यक्ष निर्मला शर्मा

नेपाल पत्रकार महासंघले विगतदेखि नै सरकारबाट हुने अभिव्यक्ति स्वतन्त्रतामाथिको संकुचनको विरोध गर्दै आएको छ र यसपटक पनि यही नीतिले निरन्तरता पाएको छ ।

सरकारको तर्क

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानून निर्माण गर्नुपर्ने आवश्यकता भएकाले विधेयक ल्याउनुपरेको बताएको छ । संसारका सबै देशले यस्तो कानूनको आवश्यकता महसुस गरेको मन्त्री गुरुङको तर्क छ ।

माथिल्लो संसदमा माघ १३ गते विधेयक दर्ता गर्दै यसको उद्देश्यबारे मन्त्री गुरुङले भनेका छन्, ‘सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्ने तथा नियमन गर्ने सम्बन्धमा कानून निर्माण गर्न आवश्यक भएकोले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेको छु ।’

तर, सत्ता गठबन्धनकै पक्षबाट निर्वाचित पत्रकार महासंघले भने सरकारको तर्कमा असहमति प्रकट गरेको छ ।

माघ १६ गते विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले भनेका छन्, ‘अगुवा नागरिक संस्था महासंघ लगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा महासंघ गम्भीर असहमति र आपत्ति प्रकट गर्दछ ।’

महासंघको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

सरकारलाई सुझाव दिँदै पत्रकार महासंघले भनेको छ, ‘महासंघ लगायत सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, हाम्रो संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएर मात्र विधेयक अगाडि बढाउन महासंघ नेपाल सरकार र संघीय संसद्सँग आग्रह गर्दछ ।’ खबरहब बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x