३२ असार २०८३, बिहीबार

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियानलाई सफल पार्न मुस्लिम समुदायका धर्मगुरु , शिक्षकहरूसंग अन्तरक्रिया

एसीपी संवाददाता

१८ माघ २०८१, शुक्रबार १८:०५ मा प्रकाशित

जिल्ला स्वास्थ्य कार्यालय बाँकेले बाँके युनेस्को क्लबको सहकार्यमा पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियानलाई सफल पार्न मुस्लिम समुदायका धर्मगुरुहरु र मुस्लिम शिक्षकहरूसंग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

माघ २२ गतेदेखि ६ फागुनसम्म बाँकेका सबै पालिकामा सञ्चालन गरिने खोप अभियानका बारेमा मुस्लिम धर्मगुरु र शिक्षकहरुलाई जानकारी गराई सबैको सहभागिता सुनिश्चित गराउन छुट्टा छुट्टै छलफल कार्यक्रम आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

उहाँले छलफल मुख्यतया १० देखि १४ वर्षका र कक्षा ६ देखि १० सम्मका मुस्लिम बालिकाहरूलाई खोप अभियानमा शतप्रतिशत संलग्न गराउने रणनीतिहरूमा केन्द्रित रहेको बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीको अध्यक्षतामा भएका ती दुबै कार्यक्रममा सहभागि हुनु भएका मुस्लिम धार्मिक गुरुहरु र शिक्षकहरुले खोप अभियानमा बढी भन्दा बढी समुदायका लक्षित बालिकालाई सहभागि गराउने वातावरण बनाउने प्रतिवद्धता जनाएका थिए ।

सो छलफल तथा अन्तरक्रियामा नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकाका २५ मुस्लिम धर्मगुरुहरु र ४७ जना (३३ पुरुष र १४ महिला) शिक्षकहरुको सहभागिता रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । ती दुबै छलफल कार्यक्रमको सहजीकरण र संचालन जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही र खोप फोकल पर्सन नरेश बाबु श्रेष्ठले गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी र नेपालगन्ज उपमहानगर स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले अभियान बारे जानकारी गराउँदै धर्मगुरु र शिक्षकहरुले बिशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष तुलाधर, कोषाध्यक्ष फिरदौस जहाँ, नेपालगन्ज उपमहानगरका शिक्षा समितिका सदस्य मौलाना जियाउल मुस्तफा नुरानी, खिदमत फाउन्डेसनका अध्यक्ष डा. ओबेदुर रहमान, धर्मगुरु मुजाहिद रजा कादरी, क्लबका कार्यवाहक कार्यकारी निर्देशक महेश नेपाली र क्लबका फोकल पर्सन गुलाम गौस कादरी लगायतको उपस्थिति रहेको थियो ।

मुस्लिम समुदायमा खोप अभियानलाई सफल पार्ने उदेश्यले आयोजना गरिएका ती दुबै कार्यक्रम निकै प्रभावकारी देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x