३२ असार २०८३, बिहीबार

उपराष्ट्रपति यादवद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना

एसीपी संवाददाता

२१ माघ २०८१, सोमबार ११:४२ मा प्रकाशित

उपराष्ट्रपति  रामसहाय प्रसाद यादवले वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८१ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।   शुभकामना संदेशको पूर्णपाठ:-

हरेक वर्षको माघ शुक्ल पञ्चमी तिथिमा हर्षोल्लासका साथ मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८१ को शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

यस अवसरमा विद्या, ज्ञान, बुद्धि, कला र संगीतको प्रतिकका रुपमा देवी सरस्वतीको पूजा–अर्चना गर्ने हिन्दू विधान र पौराणिक परम्परा रही आएको छ । शैक्षिक संस्थाहरुले नृत्य, गीत–संगीतको विशेष आयोजना गर्दै विद्याको अधिष्ठात्री सरस्वती देवीको पूजा–अर्चना गर्छन् । यस अवसरमा किताब, कलम, कपी, वाद्य उपकरण आदिको पूजा गर्ने परम्परा पनि छ । यसले विद्या र संगीत साधनामा प्रयोग हुने सामग्रीहरुलाई सबैले सम्मान गर्न सक्नु पर्दछ भन्ने संदेश दिन्छ । आजको दिन अभिभावकहरुले आ–आफ्ना बालबालिकाहरुलाई विद्याध्ययन प्रारम्भ (अक्षरारम्भ) पनि गराउने गर्दछ ।

वसन्त पञ्चमीका अवसरमा देशका विभिन्न सरस्वती मन्दिरहरुमा मेला लाग्ने गर्दछ । पछिल्लो समय सार्वजनिक पूजा पञ्डालहरुमा सरस्वती देवीको माटोको प्रतिमाहरु स्थापना गरी सामूहिक पूजा–अर्चना गर्ने संस्कृति र परम्परा लोकप्रिय हुँदै गएको छ । यसले ‘सामूहिकतामा एकता’ को मूल मर्मलाई प्रतिबिम्बित गर्दछ । सरस्वतीको प्रतिमाहरु स्थापना भएका स्थानमा भजन–कीर्तन, वसन्त श्रवण र होली–गीतहरुले हाम्रा मौलिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्धनमा सहयोग पुग्दछ । वसन्त पञ्चमीको भोलि पल्ट प्रातःकाल कुनै पवित्र जलाशय वा नदीहरुमा प्रतिमाहरुको विसर्जन गर्ने क्रममा आयोजना हुने धार्मिक झाँकीहरुले रैथाने संस्कृति र रीतिरिवाजको जगेर्नाका लागि उत्प्रेरित गर्दछ ।

वसन्त पञ्चमी पर्व माता सरस्वतीको आविर्भाव दिवसका रुपमा पनि मनाइन्छ । श्रीपञ्चमीका रुपमा समेत मनाइने यो पर्व किसानसंग पनि जोडिएको छ । मधेशमा यस अवसरमा हलोको पूजा गर्ने र खेतिकिसानीमा सहयोग गर्नेहरुलाई सम्मान गर्ने परम्परा छ । यसले मौलिक संस्कृतिलाई जीवन्त बनाउन सहयोग पुग्दछ । पछिल्लो समय कृषिमा आधुनिकीकरणका कारण यो संस्कृति लोपोन्मुख छ, यसको जगेर्ना जरुरी छ । कृषि क्षेत्र हाम्रो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हो, यो पर्वले हामीलाई कृषि र कृषिकर्ममा लाग्नेहरुप्रति सम्मान प्रकट गर्न प्रेरित गर्दछ ।

वसन्त पञ्चमीको अर्को विशेषता, यसले सर्वधर्मलाई स्विकार गरेको छ । यो हिन्दू श्रद्धालुहरुको लागि मात्रै होइन, बौद्ध, मुस्लिम लगायतका धर्मावलम्बीहरुको लागि उत्तिकै महत्वपूर्ण छ । बौद्ध धर्मावलम्बीहरुले बोधिसत्व मञ्जुश्रीको पूजा आराधना गर्छन् । मुस्लिम समूदायले सुफि वसन्तका रुपमा १२ औं शताब्दीदेखि मनाउँदै आएको विभिन्न दस्तावेज र मुस्लिम किम्बदन्तीहरुमा पाइन्छ । यस अर्थमा वसन्त पञ्चमी विभिन्न धर्मावलम्बीहरुको त्रिवेणी उत्सव हो ।

हाम्रो गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको छ । भूगोल, क्षेत्र, वर्ग र समुदाय अनुसार चाडपर्वहरुमा विविधता रहेको पाइन्छ । हाम्रो सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सहयोग पुगेको छ । आपसी द्वन्द्व, द्वेष, राग, वैमनस्यता र उच्छृंखलता बिर्सेर परस्पर खुशी साटासाट गर्न वसन्त पञ्चमीले सबैलाई उत्प्रेरित गर्दै शिक्षा र ज्ञानको सत्यमार्गमा लम्किन सबैलाई हौशला प्राप्त होस् ।

अन्त्यमा, यो पर्वले आपसी मेलमिलाप, प्रेम र एकताको भावना प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु । यो शुभ अवसरलाई सबैले आ–आफ्नो नकारात्मक सोच, विचार र मानसिकता परित्याग गरी आफूभित्र सकारात्मकता भर्ने महत्वपूर्ण तिथिका रुपमा लिन सक्नुपर्छ । यस अवसरमा गरिने वसन्त श्रवण र सरस्वती पूजाले सिंगो मानव जीवनमा सँधै ऊर्जाशील र नयाँ खोज गर्न प्रेरित गर्न सकोस् । वसन्त पञ्चमीले सबैको जीवनमा आनन्द, समृद्धि र शान्ति ल्याओस् भन्ने कामनासहित सम्पूर्ण नेपाली जनतालाई पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x