३२ असार २०८३, बिहीबार

‘जनयुद्ध’लाई हिंसा भनेपछि विवादमा ‘बादल’

एसीपी संवाददाता

२७ माघ २०८१, आईतवार १४:१६ मा प्रकाशित

  • यद्यपि गत वर्ष फागुन १ गते उनले ‘जनयुद्ध दिवस’को शुभकामना दिएका थिए
  • ‘एमाले बन्नलाई के–के गर्नुपर्छ, बादलजीले सबै गर्नुहुन्छ । एमालेको कोर टिममा पर्न जनयुद्ध गलत थियो भन्नै पर्‍यो । त्यो केवल हिंसा थियो भन्नै पर्‍यो ।’- माओवादी सचिव राम कार्की

काठमाडौँ —एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी युद्ध ‘हिंसा नै भएको’ बताएपछि विवाद र चर्चामा छन् । माओवादीको १० वर्षे सशस्त्र युद्धका एक नेतृत्वकर्ता थापाले यस्तो टिप्पणी गरेपछि माओवादी नेताहरूले चर्को विरोध गरेका छन् ।

माओवादी नेताहरूले थापाले ‘जनयुद्ध’लाई गलत व्याख्या गरेको भन्दै ‘समयले हिसाब किताब’ गर्ने चेतावनीसमेत दिएका छन् । माओवादी युद्धको ‘राप ताप’को बलमा नेताको रुपमा उदाएका थापाले माओवादी ‘जनयुद्ध’ को इतिहासलाई बंग्याउन खोजेको उनीहरूको आरोप छ ।

कुनै बेला ‘जनयुद्ध’ का नायक भएपनि एमालेमा गएपछि उनी ‘खलनायक’ का रूपमा प्रस्तुत भएको माओवादी नेताहरूको टिप्पणी छ । थापा चितवनमा २०७९ मा एमालेको दशौं महाधिवेशनबाट उपाध्यक्ष चयन भएका थिए भने अध्यक्ष केपी शर्मा ओलीको निकट रहेर काम गर्दै आएका छन् ।

सार्वजनिक रुपमा उनले कमै धारणा राख्छन् । पछिल्लो ओलीको विश्वासिला नेताको रुपमा पार्टीमा सक्रिय छन् । एमालेका एक नेताका अनुसार उनी पार्टी बैठकमा कमै बोल्छन्, बोल्नै परे ओलीको धारणामा शतप्रतिशत समर्थन गर्छन् ।

एमाले अध्यक्ष ओलीले माओवादी युद्ध ‘हिंसा’ नै भएकाले ‘जनयुद्ध दिवस’ मनाउनु गलत भएको बताउँदै आएका छन् । अघिल्लो माओवादी अध्यक्ष पुष्पकमल दाहाल सरकारले ‘जनयुद्ध दिवस’ का दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि ओलीले त्यसको चर्को विरोध गरेका थिए

बिहीबार एमालेको कार्यक्रममा अछाम पुगेका थापाले ओलीकै शैलीमा माओवादी युद्धबारे टिप्पणी गरे । उनले ओलीले जयुद्धलाई हिंसात्मक द्वन्द्व भनेकोमा पनि आपत्ति नभएको समेत बताए ।

‘जनयुद्ध भनेको हिंसा नै हो । हिंसा भनेको रक्तपात हो, त्यहाँ मर्ने र मार्ने हुन्छ । त्यसकारण अध्यक्षले भनेको भनाइमा मेरो आपत्ति छैन । यो कुरालाई माओवादीले पनि मान्छ,’ थापाले जनयुद्ध दिवस मनाउनु गलत भएकोसमेत बताउँदै भने, ‘जनयुद्ध दिवस मनाउने होइन । कहीँ पनि दुनियाँमा त्यस्तो मनाइँदैन । माओवादीले पनि जनयुद्ध मनाउने भनेर स्टन्टबाजी गरेको हो । ईकान्तिपुर

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x