वामपन्थी दलहरू विचारभन्दा सत्ताको खेलमा अल्झिए : झलनाथ खनाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टीले अघि सारेका नीति तथा कार्यक्रम देश र जनताको पक्षमा रहेको दाबी गरेका छन्।
आज बिहान विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता खनालले अन्य दलहरूको तुलनामा एकीकृत समाजवादीको नीति तथा कार्यक्रम प्रभावकारी रहेको बताए। साथै, उनले वर्तमान सरकार ढालेर अर्को जनमुखी सरकार निर्माण गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारे।
खनालले वामपन्थी दलहरूबीच एकता आवश्यक रहेको उल्लेख गर्दै “अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमका आधारमा मिल्नुपर्छ। देश र जनताको पक्षमा देखिने गरी काम गर्नुपर्छ,” भन्ने धारणा राखे।
देशलाई दीगो विकास र समृद्धिको दिशामा अघि बढाउन आधुनिक कृषि प्रणाली र उद्योग क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। साथै, वर्तमान संविधान सम्झौताका आधारमा बनेको भएकाले समयसापेक्ष संशोधन आवश्यक रहेको औँल्याउँदै उनले संविधानको सिंहावलोकन गर्ने बेला आएको बताए।



