बाँकेको नरैनापुरमा ऐतिहासिक मेला सुरु , डेढ सय वर्षदेखि निरन्तर मेलाको परम्परा
नरैनापुर, बाँके – बाँकेको नरैनापुर गाउँपालिका वडा नं २, मियाँ पूर्वामा डेढ सय वर्षदेखि हरेक वर्ष निरन्तर लाग्दै आएको ऐतिहासिक मेला आज सोमबारदेखि सुरु भएको छ।
नरैनापुर गाउँपालिका वडा नं २, गंगापुर मियाँ पूर्वामा आयोजित मेलाको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व सहरी विकास मन्त्री कृष्णा केसी नमूनाले गर्नुभएको छ।
यो मेला १८५७ देखि बसन्त पञ्चमीपछि हरेक वर्ष आयोजना हुँदै आएको छ, जसको मुख्य उद्देश्य धार्मिक गुरु खलिफा नुर अहमद शाहको सम्झना गर्नु हो। १८ वर्षसम्म पहाडमा कठोर तपस्या गरेका धर्मगुरुको सम्मानमा यो परम्परा जारी राखिएको हो।
यस ऐतिहासिक मेलाले धार्मिक आस्था मात्र होइन, सामाजिक एवं सांस्कृतिक एकतालाई समेत मजबुत बनाउने विश्वास गरिएको छ। स्थानीय बासिन्दाका अनुसार, मेलामा नेपालका विभिन्न स्थानहरूबाट मात्र नभई भारतलगायतका मुलुकबाट पनि भक्तजनहरू एवं पर्यटकहरू आउने गरेका छन्।
धार्मिक विश्वास अनुसार, मेलामा सहभागी भई दर्शन एवं पूजा गर्नाले मनोकांक्षा पूर्ण हुने जनविश्वास रहेको छ। यस वर्ष पनि मेला भव्य रूपमा सम्पन्न गर्न स्थानीय प्रशासन, मेला आयोजक समिति तथा स्थानीय समुदायको सक्रिय संलग्नता रहेको छ।



