३२ असार २०८३, बिहीबार

नेपाली कांग्रेसको महाधिवेशन २०८४ सालमा हुनेमा कसैले आशंका नराख्न आग्रह

एसीपी संवाददाता

१ फाल्गुन २०८१, बिहीबार ११:४२ मा प्रकाशित

रूपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसको महाधिवेशन २०८४ सालमा हुनेमा कसैले आशंका नराख्न आग्रह गरेका छन् ।

बुधबार बुटवलमा आयोजित नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले २०८४ को चुनावअघि पार्टीको महाधिवेशन सकिने विश्वास दिलाए ।

‘यसमा कसैले भ्रम पाल्नुपर्दैन, पार्टी सभापति यसमा प्रस्ट हुनुहुन्छ, सबै भ्रातृ संगठनहरुलाई अब छिट्टै अधिवेशन सकाएर स्थानीय तहबाट प्रतिनिधि छान्ने काम सकाउनुपर्छ’, महामन्त्री थापाले भने, ‘त्यसैले निर्धारित समयमा महाधिवेशन गर्न दबाब सृजना हुनेछ ।’

अहिले आफ्नो र पार्टी सभापतिको केमेस्ट्री मिलेकाले काममा सहज भएको दाबी गर्दै उनले भने, ‘अहिले सभापतिसँग दिनहुँजसो कुरा भइरहेको छ, सबै योजनाअनुसार काम भएको छ, काम गर्ने केमेस्ट्री मिलेको छ ।’

नेविसंघ र किसान संघको मात्र अधिवेशन बाँकी रहेको उल्लेख गर्दै उनले अब कुनै पनि संगठन नेतृत्वविहीन भएर, गुटउपगुटमा गाँजिएर बस्न नपाइने बताए ।

गुटबन्दी त्यागेर पार्टी हितमा लाग्नुपर्नेमा जोड दिँदै महामन्त्री थापाले भने, ‘भ्रातृ संगठन पनि गुटले थिलोथिलो भएका छन्, मुस्लिम संघमा त्यसको कुनै असर छैन, त्यसै गरेर जानुस्, अब गुटबन्दी गरेर होइन, संगठन बलियो बनाएर अघि बढ्नुपर्छ । राम्रो कामको चर्चा गरौं, गठबन्धन कार्यान्वयनमा एकताबद्ध भएर लागौं ।”

संविधान संशोधन आवश्यक रहेको औंल्याउँदै उनले सबै दलको सामूहिक आवश्यकता रहेको बताए ।

वर्तमान सरकारलाई सफल बनाउने मुख्य दायित्व कांग्रेसको भएकोले अब सकारात्मक अभियान चलाउन कार्यकर्तालाई महामन्त्री थापाले आग्रह गरे ।

‘एमालेसँग भएको समझदारी जसरी पनि कार्यान्वयन गरिन्छ । अवसरको सही उपयोग गरौं, पार्टीलाई बलियो बनाऔं’, उनले भने । नेपालप्रेस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x